नेकपा बैठकका निर्णयः प्रचण्डलाई पार्टी चलाउने अधिकार, ओलीले सरकार, एमसीसी परिमार्जनसहित पारित गर्ने

अन्तरविरोधलाई समाधान गर्न र पार्टीलाई दुर्घटनाबाट बचाउन सफल


काठमाडौं । सत्तारुढ नेकपाको स्थायी समिति बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्ष र केपी ओलीले सरकार चलाउने लगायतका निर्णय गरेको छ । शुक्रबार दिउँसो बालुवाटारमा सम्पन्न बैठकले दुबै अध्यक्षको अधिकार बाँडफाँड गरेको हो ।

बैठकमा सहभागी स्थायी समिति सदस्यहरुले ओली सरकारको काममा केन्द्रीत हुन र प्रचण्डले कार्यकारी अध्यक्षको भूमिकामा पार्टी संचालन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले सरकारको काम कारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने तर महत्वपूर्ण मुद्धा र विषयमा भने पार्टीसँग छलफल र समन्वय गरेर मात्रै निर्णय गर्ने समेत सहमती गरेका छन् ।

विवादका कारण स्थगित भएको करिब डेढ महिनापछि बसेको स्थायी समिति बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे पनि केहि निर्णय गरेको छ । प्रवक्ता श्रेष्ठकाअनुसार बैठकले एमसीसीलाई आवश्यकता अनुसार संशोधन र परिमार्जन गरेर सरकारले पारित गर्नेछ ।

बैठकमा सीमा विवाद, नेपाली भूमीमा रहेका विदेशी सुरक्षाकर्मी फर्काउने बिषयमा भारतसंग राजनीति, कुटनीतिकमार्फत समस्या समाधान गर्ने गरी काम गर्ने समेत निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।

कोरोना नियन्त्रणका बिषयमा सरकारले अघि बढाएका प्रयासहरु सकरात्मक रहेको भन्दै स्थायी समिति बैठकले अझै ब्यवस्थित रुपमा कामहरु अघि बढाउन सरकारलाई सुझाव दिने निर्णय समेत गरेको छ ।

पार्टीभित्रका समस्या र अन्तरविरोधलाई समाधान गर्न, पार्टीलाई दुर्घटनाबाट बचाउन सफल भएको समेत बैठकले निष्कर्ष निकालेको छ । साथै पार्टी एकताका बाँकी काम र सांगठनिकरुपमा अझ बलियो हुनेगरी महाधिवेशन लगायतका बिषयमा पार्टी पंती एकढिक्का भएर लाग्ने समेत निर्णय गरेको छ ।

पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले बैठकमा कुनै असन्तुष्टी नजनाएको प्रवक्ता श्रेष्ठले प्रष्ट पारेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार