काठमाडौँ । बझाङकी १२ बर्षीय बालिका सम्झाना कामीको बलात्कारपछि हत्याबारे सभामुख अग्नी सापकोटालाई ध्यानाकर्षण गराइएको छ।
बझाङ लगायत सुदूरपश्चिमका संघीय सांसदहरुले मंगलबार सभामुख सापकोटासँग भेट गरी सम्झनाको हत्यामा संलग्नलाई कडा कारबाही गर्नका लागि ध्यानाकर्षण गराएका हुन् ।
सभामुखलाई भेट्न बझाङबाट प्रतिनिधित्व गर्ने संघिय सांसद आशा कुमारी विक, डडेल्धुराबाट प्रतिनिधित्व गर्ने संघिय सासद निरा जैरु, कैलालीबाट प्रतिनिधित्व गर्ने संघिय सांसद लक्ष्मी चौधरी, अधिकारकर्मी लगायतको टोली गएको थियो ।
सांसदहरु टोलीले सम्झनाका हत्यारालाई हदैसम्मको कारबाही गर्नका लागि घटनाको निष्पक्ष छानबिन र पीडित परिवारलाई उचित क्षतिपूर्तिका विषयमा सभामुख सापकोटालाई ध्यानाकर्षण गराएको सांसद आशा बिकले बताइन् ।
भेटमा सभामुख सापकोटाले उक्त घटनालाई आफूले गम्भीर रुपमा लिएको र आफ्नोतर्फबाट पीडितलाई न्यायका लागि विशेष पहल हुने प्रतिबद्धता व्यक्त गरे ।
जिल्लाको मष्टा गाउँपालिका २ मा सम्झानाको असोज ७ गते साँझ बलात्कारपछि हत्या गरिएको अवस्थामा मन्दिरमा शव भेटिएको थियो ।
घटनामा संलग्न रहेको भन्दै प्रहरीले स्थानिय राजेन्द्र बोहोरालाई पक्राउ गरी अनुसंन्धान गर्दै कारवाही प्रकृया अघि बढाएको बझाङ प्रहरीले जनाएको छ ।
यो पनि पढौं
सम्झनाको बलात्कारपछि हत्याबारे गृहमन्त्रीको ध्यानाकर्षण, गृहमन्त्रीले के भने ?