
काठमाडौँ । आफ्नै अन्तरिक्ष केन्द्र निर्माणका लागि चीनले आज ३ अन्तरिक्ष यात्री पठाएको छ । जियूकान स्याटेलाइट लन्च सेन्टरबाट आज बिहान ९ बजेर २२ मिनेटमा मार्च २ एफ रकेटले उनीहरु चढेको सेन्झोउ १२ यानलाई अन्तरिक्ष केन्द्रतर्फ लगेको हो ।
अन्तरिक्ष केन्द्रमा पठाइएका चिनियाँ अन्तरिक्षयात्रीहरुमा ५६ वर्षीय निह हाइसङ,५४ वर्षीय लिउ बोमिङ र ४५ वर्षीय थङ हङ्बो रहेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
हाइसङ यसअघि सेन्झोउ ६ र सेन्झोउ १० मिसनमा काम गरिसकेका अनुभवी चिनियाँ अन्तरिक्षयात्री हुन् ।
उक्त प्रक्षेपण सफल भएको समेत चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । अन्तरिक्ष केन्द्र स्थापनाका लागि गरिएको यो तेस्रो प्रक्षेपण हो ।
विभिन्न ११ चरणमा अन्तरिक्ष निर्माण कार्य सम्पन्न हुने बताइएको छ । उनीहरु त्यहाँ ३ महिना बसेर अन्तरिक्ष अन्वेषणसम्बन्धीका कामहरु गर्ने समाचारमा जनाइएको छ ।
गत अप्रिलमा चीनले अन्तरिक्ष अन्वेषणका लागि सन् २०२२ सम्ममा आफ्नो छुट्टै अन्तरिक्ष केन्द्र निर्माण गर्ने घोषणा गरेको थियो । घोषणा गरेको दुई महिनामै उसले अन्तरिक्षयात्री पठाएसँगै चीनले अन्तरिक्ष रेसुमा अभूतपूर्व सफलता हासिल गरेको बताएको छ ।
विश्व शक्तीराष्ट्रका रुपमा उदाईरहेको चीनले टेक्नोलोजीमा निकै ठुलो फड्को मारिसकेको छ । कोरोना महामारी पनि उसले निकै कम क्षतीमा नियन्त्रणमा लिएको छ भने कोरोना नियन्त्रण र उपचारका लागि विश्वभर सहयोग गरिरहेको छ ।












