अमेरिकाले भन्यो: रुस र नेटोबीच सिधा टकराव, तेस्रो विश्वयुद्ध हो

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुस र नेटोबीच सिधा टकराव भए त्यो विश्वयुद्ध हुने बताएका छन् । तेस्रो विश्वयुद्ध रोक्न सबैले प्रयास गर्नुपर्ने उनको भनाई छ ।

सामाजिकसंजाल ट्वीटरमार्फत बाइडेनले भनेका छन्, “रुस र नेटोबीचको सिधा टकराव भनेको तेस्रो विश्वयुद्ध हो जसलाई रोक्न हामीले प्रयास गर्नुपर्छ ।”

राष्ट्रपति बाइडेनले रुससँग युद्ध लड्न युक्रेनमा अमेरिकी सेना नपठाउने समेत बताएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उत्तर एटलान्टिक सन्धि संगठन९नेटो० सँग रुसी आक्रमण बढिरहेको भन्दै सहयोग मागेका बेला बाइडेनको यस्तो भनाइ बाहिर आएको हो ।

बाइडेनले नेटो क्षेत्रको हरेक इन्च जमिन रक्षा गर्न आफूहरू तयार भए पनि युक्रेनमा रुसविरुद्ध युद्ध नलड्ने बताएका छन् । “हामी एक संयुक्त र सशक्त नेटोको पूरा तागतका साथ नेटो क्षेत्रको हरेक इन्चको रक्षा गर्छौँ । तर हामी युक्रेनमा रुसविरुद्ध युद्ध लड्ने छैनौँ,” बाइडेनले ट्वीट गरेका छन् ।

फेब्रुअरी २४ देखि रुसले युक्रेनमा लगातार आक्रमण गरिरहेको छ । रुसले पछिल्ला दिनहरुमा युक्रेनको राजधानी नजिक पुगेर युद्धलाई जारी राखेको छ । यसबीचमा विदेशमन्त्रीस्तरीय वार्ता भए पनि युद्धविरामको प्रयास विफल भएको छ ।
युक्रेनले नेटोको सदस्या नलिने प्रतिवद्धता गरे युद्ध रोकिन सक्ने रुसको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार