
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देही रोहिणी खोलामा भएको बस दुर्घटनाका घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् । जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस आज बिहान साढे चारबजे रोहीणाी खोलाको पुलबाट खस्दा ९ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । दुर्घटना परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्योपचार गर्न कुनै कसुर बाँकी नराख्न गृहमन्त्री खाँणले निर्देशन दिएका हुन्।
उनले आज बिहान फोनमार्फत रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीलाई घाइतेहरूको उपचारमा कुनै कसूर बाँकी नराख्न र उपचारको राम्रो व्यवस्था गर्न निर्देशन दिएका हुन् ।
त्यस्तै घाइतेहरूको उपचार भइरहेको भीम अस्पतालका अध्यक्ष कुलप्रसाद न्यौपाने र मेडिकल सुपरीटेन्डेन्ट डा। शकुन्तला गुप्ता तथा युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीलाई घाइतेहरूको यथाशक्य चाँडो उपचारको व्यवस्था गर्न उनले आग्रह समेत गरेको गृहमन्त्रालयले जनाएको छ। दुर्घटनामा मृतकमध्ये ५ जनको सनाखत भइसकेको प्रहरीले जनाएको छ ।











