
काठमाडौं । आज विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक बर्ष अगष्ट ९ तारीखमा मनाइने विश्व आदिवासी दिवस पनि नेपालमा विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ । नेपालका आदिवासी जनजातिजन्य संघ संस्थाहरुले ‘२८औं विश्व आदिवासी दिवस’ संयुक्तरुपमा एक सातासम्म मनाउने भएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघले दिवसको अवसरमा यस वर्ष मूल समारोहको रुपमा साउन २४ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिशेष कार्यक्रम गर्दैछ । जसमा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथिको रुपमा सहभागी हुने महासंघले जनाएको छ।
यसका साथै दिवसको अवसर पारेर महासंघका सम्बन्धन प्राप्त संस्था र आदिवासी जनजातिजन्य ७ वटा संस्थाहरुको अगुवाइमा देशका विभिन्न ठाउँमा साताव्यापी कार्यक्रम भइरहेका छन् ।
प्रत्येक बर्ष दिवस मनाइए पनि आदिवासी जनजातीहरुका अधिकार अझै प्राप्त नभएको भन्दै बेला बेला आन्दोलन समेत हुँदै आएका छन् ।










