
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले एमालेका मान्छेले घ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएका छन् । शनिवार काठमाडौंमा युवा संघ नेपाल, युथ फोर्स उपत्यका भ्याली कमाण्ड घोषणा तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै नेता बस्नेतले एमालेका मान्छेले भ्रष्टाचार गरेको भए समातेर देखाउन चुनौती दिएका हुन् ।
‘एमालेका मान्छेले भ्रष्टाचार गरेको भए समातेर देखाउ, होइन भने काँक्रो चोरेर आफू खाने बियाँ अर्काको मुखमा लगाएर स्याल हुइयाँ गर्ने दिन सकिए’ बस्नेतले भने ।
उनले अघिल्लो सरकारले गरेको कामलाई निरन्तरता नदिई भत्काउन खोजेमा युथ फोर्सले त्यसको कडा प्रतिकार गर्ने समेत बताए ।
नेता बस्नेतले ओली सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फुटाउने अध्यादेश ल्याए युथ फोर्सले देशभर आगो बाल्ने चेतावनी दिए ।
‘पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा, अध्यादेश फेल गराइयो, अहिले फेरि एमाले फुटाउन अध्यादेश ल्याउनुभयो भने देशभरि अगो बल्छ’ नेता बस्नेतले भने ।
नेता बस्नेतले राष्ट्रपति जस्तो संस्थाको गरिमा र पदको अपमान भइरहेकोले त्यो आफुहरुलाइृ मान्य नहुने बताए । गठबन्धनले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउनेबारे हल्ला सुनिएकाले त्यो नसोच्न उनले आग्रह गरे ।











