
ललितपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसले वर्तमान परिस्थिति नबुझे अर्को गठबन्धन बन्ने चेतावनी दिएका छन् । आगामी मंसिर ४ गतेको चुनावसम्मै गठबन्धन इमानदार भएर जानुपर्नेमा जोड दिदैंं पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले काँग्रेसले गठबन्धनका साझेदार दलहरुलाई बेवास्ता गरे अर्को वाम गठबन्धन हुनसक्नेतर्फ सचेत गराएका छन् ।
माओवादी केन्द्रको वाग्मती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज ललितपुरको सानेपामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मंसिर ४ गतेको निर्वाचनमा कांग्रेसले वर्तमान परिस्थिति नबुझे, शक्तिको सही मूल्याकंन र गठबन्धनको महत्व नबुझे अर्को गठबन्धन बन्ने बताएका हुन् ।
कांग्रेसको शेखर कोइराला समुहले गठबन्धनमा रहेका अन्य दलहरूलाई प्रतिनिधिसभामा १६५ सिटमध्ये १०० काँग्रेसले लिने र गठबन्धनका अन्य दललाई ६५ सिटभन्दा बढी नदिने सार्वजनिक रुपमा भनिरहेका बेला प्रचण्डको यो चेतावनीपुर्ण अभिब्यक्तीलाई गठबन्धनभित्र खास रुपमा लिइएको छ ।
बैठकमा अध्यक्ष प्रचण्डले सकेसम्म आगामी चुनावमा सत्ता गठबन्धन कायमै रहनेमा आफु विश्वस्त रहेको पनि बताए।
कांग्रेसभित्र विभिन्न विचार समुह रहेकाले काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका शिर्ष नेताहरुसंग गठबन्धनका अन्य दलहरुले गरेको छलफल र निर्णयअनुसार चुनावसम्म सबैलाई न्याय हुनेगरी गठबन्धन जानुको विकल्प नरहेको समेत उनले बताए ।
गठबन्धनमा सामेल दलहरुका शिर्ष नेताहरुले मंसिरको चुनावमा तालमेल गरेर जाने निर्णय नै गरेपछि अहिले सिट भाँडफाँटबारे गठित कार्यदलमा निरन्तर छलफलहरु भइरहेका छन ।
अध्यक्ष प्रचण्डले आगामी मंसिरको चुनावमा माओवादी केन्द्रलाई वामपन्थी भित्रको पहिलो शक्ति बनाउनेगरी लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिएका छन् ।











