सप्तरी । मधेशमा कृषि विश्वविद्यालय भवन शिलान्यासमा जनमत र जसपा पार्टीबीच लफडा भएको छ । भवन शिलान्यासमा प्रमख अतिथि बनाउने बिषयमा दुई पार्टीबीच लफडा भएको हो । आज सप्तरीको राजविराजमामा विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीसँग समेत झडप भएको छ ।
झडपमा परी मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव, प्रदेश सांसदहरु सतिश सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी घाइते भएको जनमतका सचिव विपी साहले बताए । कार्यक्रम स्थलमा अवरोध गर्न खोजेपछि प्रहरीले लाठी चार्ज गर्दा उनिहरु घाइते भएका हुन् ।
जनमतको विरोधकाबीच राजविराजमा मधेश कृषि विश्वविद्यालयको जसपा अध्यक्ष उपेन्द्र यादवले शिलान्यास गरेका छन् । राजविराज नगरपालिका- १३ मा करिब १२ विघा जग्गामा विश्वविद्यालयको भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।
शिलान्यासमा सप्तरी २ बाट पराजित उपेन्द्र यादवलाई नै प्रमुख अतिथि बनाएपछि जनमतले विरोध गरेको थियो । यादवलाइृ प्रमुख अतिथि बनाउने भएपछि जनमतले हिजो विश्वविद्यालयको कार्यालयमा तालाबन्दी समेत गरेको थियो ।
जनमत अध्यक्ष डा. सिके राउतले शिलान्यास कार्यक्रम रोक्न गृह मन्त्रालयलाई समेत पत्राचार गरेका थिए । जनमतले चुनावमा हारेका यादवलाई नै प्रमुख अतिथि बनाउन नहुने भन्दै विरोध गरिरहेको थियो ।