
काठमाडौं । यसबर्षको एसईई परिक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आज माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो। सार्वजनिक नतिजाअनुसार परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । परिक्षामा १८६ जनाले ४ जीपीए ल्याएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये झण्डै आधा २ लाख ४२ हजार ३१३ जना विद्यार्थीले कक्षा ११ मा पढ्न पाउने छैनन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।
बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्दा यस्तो नतिजा आएको हो । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा गर्ने व्यवस्था छ। विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने ब्यवस्था छ ।
७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्ने ब्यवस्था छ । लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरेर नतिजा प्रकाशन गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अंक नपाएका विद्यार्थीको प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । र, त्यस्ता विधार्थीले कक्षा ११ मा पढ्न पाउने छैनन् ।
साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैनन् । यद्यपि दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने ब्यवस्था रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छन् ।
दुईभन्दा बढी विषयमा न्यूनमत ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।
यसबर्षको एसईई परीक्षा चैत १५ देखि चैत २७ सम्म संचालन भएको थियो ।
परिक्षाको नतिजा यसरि हेर्नुहोस
परिक्षाको नतिजा परिक्षा नियन्त्रण कार्यालयले जारी गरेको सूचना अनुसार नेपाल टेलिकममार्फत् १६०० कोड प्रयोग गरेर एसएमएस तथा आईभीआर गरेर हेर्न सकिने, स्विफ्ट टेक्नोलोजी प्रा.लिमा ३४४५५ कोडमा, जानकी टेक्नोलोजी प्रालि ३५००१ मा कोडमा, इजी सर्भिस प्रालिमा ३४९४९ कोडमा र आकाश टेक प्रालिमा ३१००३ कोड राखेर एसएमएस गरेर नतिजासम्बन्धी विवरण हेर्न सक्नेछन् ।
त्यस्तैगरी राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, नेपाल टेलिकम, खल्ती, इसेवा, एनसेललगायतका वेबसाइटमार्फत् पनि नतिजा विवरण हेर्न सक्नेछन् ।












