‘भुत्तेगाँठो’ माथि काठमाडौंमा समिक्षात्मक छलफल, राज्यलाई खबरदारी


काठमाडौं । लेखक सहित्यकार हरिश्चन्द्र नेपालीको  ‘भुत्तेगाँठो’ माथि काठमाडौंमा समिक्षात्मक छलफल सम्पन्न भएको छ । हालै प्रकाशित कृतीका लेखक नेपालीको उपस्थितीमा काठमाडौंमा बौद्धिक ब्यक्तित्व, राजनीतिकर्मी, अधिकारकर्मी, अभियन्ता, अद्येयता र संचारकर्मीहरुको सहभागीतामा भुत्तेगाँठोमाथि काठमाडौंमा समिक्षात्मक छलफल सम्पन्न भएको हो ।

छलफलमा सहभागीहरुले साहित्यकार नेपालीको भुत्तेगाँठो कृतीले मायाप्रेमको कथामार्फत नेपाली समाजलाई प्रष्ट सन्देश दिन खोजेको बताएका छन् ।

छलफलमा सहभागी पूर्व राजदूत, सामाजिक न्याय अभियन्ता डा. निर्मल विश्वकर्माले भुत्तेगाँठोमार्फत नेपालको दलित आन्दोलनमा साहित्यकार नेपालीले योगदान पुर्याएको बताए । जातीय विभेदको भुत्तेगाँठे फुकाउने दलित समुदायको मात्रै जिम्मेवारी नभएको डा. विश्वकर्माको भनाई छ । नेपालको दलित आन्दोलन पनि जातीय उत्पीडनको भुत्तेगाँठो खोल्ने आन्दोलनमै रहेको बताए । भुत्तेगाँठोले नेपालमा रहेको जातीय विभेद र छुवाछूतको समस्या दलितकोमात्रै नभई सिंगो राज्यको समस्या भएकाले त्यसको अन्त्य गर्न स्वयम राज्य लाग्नुपर्ने सन्देश दिएको डा. विश्वकर्माको भनाई छ ।

छलफलममा बोल्दै नेकपा माओवादी केन्द्रका युवा नेता गोपी सुर्खेतीले साहित्यकार नेपालीले जातीय विभेदमा जेलिएको समाजलाई भुत्तेगाँठोले मुक्तिका लागि आवाज उठाएको बताए ।

उनले समाजमा अझै व्याप्त जातीय विभेदको अन्त्यका लागि स्वयम दलित समुदाय एकतावद्ध भएर अघि सर्नु पर्नेमा जोड दिए । नेता सुर्खेतीले जातीय विभेदको समस्या राजनीतिबाट मात्रै हल नहुने भएकाले समाजको सांस्कृतीक पक्ष पनि जिम्म्मेवार हुनुपर्ने बताए ।

यस्तै, वैज्ञानिक समाजवादी पार्टीका युवा नेता घम्मर नेपाली राजेशले भुत्तेगाँठो कृतीले नेपालको जात व्यवस्थालाई उजागर गरेको बताए । माया प्रेमको कथामार्फत जातीय विभेदको मुद्धा उठाएको भुत्तेगाँठोलाई एक न्यायीक आन्दोलनकै रुपमा लिनुपर्ने उनको भनाई छ । साहित्यकार नेपालीको कृती भुत्तेगाँठोले नेपाली युवाहरुलाई विभेदबारे बोल्ने र यस्ता कृती लेखनमा प्रेरणा मिल्ने नेता राजेशले विश्वास व्यक्त गरे ।

छलफलमा सहभागी सामाजिक अभियन्ता राजेश नेपालीले जात व्यवस्थामा आधारीत नेपाली समाजलाई भुत्तेगाँठोले खरो प्रश्न गरेको बताए । दलित आन्दोलनलाई समेत भुत्तेगाँठोले केहि सन्देशसहित जिम्मेवार बन्नमा सहयोगी भूमिका खेल्ने उनले भनाई छ । लामो समय विधार्थी आन्दोलनमा समेत सकृय भूमिका निभाएका अभियन्ता नेपालीले अन्तरजातीय प्रेमको कथा समेटेर भुत्तेगाँठोले समाजमा अन्याय भोग्य वाध्य अन्तरजातीय जोडीको आत्मसम्मानको सवाल शसक्त रुपमा उठाएको समेत बताए ।

त्यस्तै छलफलमा सहभागी अधिवक्ता राम बहादुर मिजारले नेपालको दलित समुदायले भोग्दै आएको जातीय विभेदको समस्या लेखकले आफ्नो कृतीमार्फत प्रष्टसंग उठाएको बताए । दलित समुदायले भोग्दै आएको विभेदका घटनामा सहजै न्याय नपाइरहेको अवस्था पनि भुत्तेगाँठोमा उजागर भएकाले दलितका सवालमा न्यायीक निकाय पनि उत्तिकै जिम्मेवार बन्नुपर्ने अधिवक्ता मिजारको भनाई थियो । उनले भुत्तेगाँठो कृतीले अन्तरजातीय प्रेमकै कारण हत्या गरिएका नेपालका अजित मिजार, नवराज विक, सेते दमाईहरुको घटना स्मरण गराउने समेत बताए ।

छलफलमा बोल्दै राजनीतिकर्मी एवम् लेखक प्रेम गैरेले जात व्यवस्थाविरुद्ध लेखकले भुत्तेगाँठोमार्फत साहित्यिक प्रतिरोध गरेको बताए । दलित समुदायलाई आर्थिक, सामाजिक, सांस्कृतीक र राजनैतिक रुपमा पछि पार्नेगरी बाँधेको त्यो भुत्तेगाँठोलाई गैरदलितकै अग्रसरतामा फुकाउन शसक्त आवाज उठ्नुपर्नेमा जोड दिए । लेखक गैरेले दलित समुदायले आफुमाथिको उत्पीडन र अत्याचारविरुद्ध साहित्यिक, संगीतिक सांस्कृतिक लगायतका क्षेत्रबाट पनि जबरजस्त हस्तक्षेप गर्न जरुरी रहेको बताए ।

छलफलमा बोल्दै कृतीका लेखक नेपालीले मानविय कलंकका रुपमा नेपाली समाजमा व्याप्त जार्तीय विभेद र छुवाछूतको भुत्तेगाँठो खोल्न सम्बन्धित सबैमा आग्रह गरिएको बताए । प्रवासमा रहे पनि सधैं नेपालको दलित समुदायबारे आफु चिन्तित रहेकाले भुत्तेगाँठो लेख्ने जमर्को गरेको उनको भनाई छ । साहित्यकार नेपालीले नेपालमा रहेको जातीय विभेद र छुवाछूत प्रवासमा पनि दलित समुदायले भोग्न वाध्य रहेकोप्रति चिन्ता व्यक्त गरे । विभेद र छुवाछूत जस्तो अपराधलाई पनि संस्कारका रुपमा अंगाल्दै गएकाले जहाँ नेपाली पुगे त्यहाँ विभेद पनि पुगेको उनको ठहर छ ।

साहित्यकार नेपालीले युरोप लगायतका देशहरुमा पनि नेपालीबीच जातीय विभेद भोगिरहेका घटनाहरुले आफुलाई भुत्तेगाँठे लेख्न उत्प्रेरित गरेको बताए ।

लामो समय युरोपका विभिन्न देशहरुमा रहेर अहिले बेलायत बस्दै आएका साहित्यकार नेपालीले समाजमा व्याप्त जातीय विभेद र छुवाछूतको समस्या दलितको मात्रै नभएर गैरदलित र सिंगो राज्यको समस्या भएकाले यसको अन्त्यका लागि सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड समेत दिए । साहित्यकार नेपालीले भुत्तेगाँठो आफ्नो पहिलो कृती भएकाले पाठकबाट सुझाव, सल्लाहको अपेक्षा पनि राखेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार