पत्रकार मिश्रमाथि हातपातको सर्वत्र विरोध, महासंघद्वारा दोषीमाथि कारबाहीको माग


कैलाली । कैलालीका पत्रकार प्रकाश मिश्रमाथि समाचार लेखेकै कारण हातपात भएको भन्दै सर्वत्र विरोध भइरहेको छ । पत्रकार मिश्रमाथि भएको हातपातलाई लिएर पत्रकार संगठनहरु र नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय लगायतले विज्ञप्ति निकाल्दै घटनामा संलग्नमाथि कडा कारबाहीको माग गरेका छन् ।

पत्रकारमाथि हातपात गर्नेलाई कारबाही गर्नुपर्ने भन्दै महासंघसंगै सुदूरपश्चिम प्रदेश समिति, कैलाली शाखा, प्रेस चौतारी, प्रेस सेन्टर लगायत पत्रकारका संगठनहरुले विज्ञप्ति जारी गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका हुन् ।
यसैबीच,पत्रकार महासंघ कैलाली शाखाको टोलीले पत्रकार मिश्रलाई भेटेर घटनाबारे छलफल गरेको छ ।

शाखाका अध्यक्ष श्रवण देउवाले समाचार लेखेकै कारण पत्रकार मिश्रमाथि हातपात गरेर सिंगो पत्रकार जगतलाई हत्तोसाहित पार्ने काम भएकाले आक्रमणकारीलाई कानुनी दायरामा ल्याउनु पर्ने बताए ।

समाचारबारे कुनै विमती भए कानुनी प्रकृयामा जाने बाटो हुँदाहुँदै पत्रकारमाथी नै भौतिक आक्रमणमा उत्रिनु गुण्डागर्दी भएको उनको भनाई थियो ।

छलफलमा पीडित पत्रकार मिश्रले आफुमाथि सुनियोजित ढंगले आक्रमण गर्नेलाई कडा कारवाही हुनुपर्ने बताए। समाजमा भइरहेका गलत र गैरकानुनी गतिविधिलाई तथ्यसहित समाचार लेख्दा आफुमाथि सुनियोजित ढंगले आक्रमण भएको उनको थियो ।

पत्रकार मिश्रमाथि हातपात गर्ने घोडाघोडी नगरपालिका–१ स्थित अजुवा क्याफेका सञ्चालक ४८ वर्षीय डबलबहादुर शाहलाई इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरी थुनामा राखेको छ भने अर्का सोहि नगरपालिकाको नम्बर १० पहलमानपुरस्थित सृजना होटेलका सञ्चालक ४० वर्षीय चेतबहादुर सिंह फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पत्रकार मिश्रले धनगढीबाट प्रकाशित हुने अनुमोदन दैनिकमा चैत ४ गते कैलालीको सिमली जंगलमा विदेशी नागरिकको रहस्यमय जमघट शीर्षकमा समाचार लेखेका थिए । उक्त समाचारलाई लिएर शाह र सिंहले आफुलाई बोलाएर आक्रमण गरेको मिश्रले जानकारी दिउका छन् ।

घोडाघोडी नगरपालिका–९ को सिमली जंगलमा करीब हप्तादेखि रेन्बो फेमली ग्यादरिङ नाम दिएर अमेरिका, भारत, चीन लगायतका विभिन्न देशबाट आएका सय भन्दा बढी विदेशी नागरिकहरुले अस्वभाविक गतिविधि गर्दै आएका थिए ।

उनिहरुबारे समाचार आएपछि जिल्ला प्रशासन कार्यालय कैलालीबाट प्रजिअ गोगनबहादुर हमालसहितको टोलीले अनुगमन समेत गरेको छ ।
अनुगमनपछि उनिहरुले त्यसरी बस्नका लागि कतैबाट अनुमती नलिएकाले २४ घण्टाभित्र उक्त क्षेत्र छोडेर गन्तव्यमा जान प्रजिअ हमालले निर्देशन दिएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार