न्युयोर्कमा पहिलोपटक ‘टपशप काठमाडौं ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड’ हुँदै


काठमाडौं । अमेरिकाको न्युयोर्कमा पहिलोपटक ‘टपशप काठमाडौं ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड’ आयोजना हुने भएको छ। आगामी मे ४ तारिखका दिन न्युयोर्कस्थित मेलरोज बालरुममा अर्वाड कार्यक्रम भव्य रुपमा सम्पन्न हुनेछ ।
उक्त भव्य समारोहमा नेपालसहित अमेरिकाका विभिन्न राज्यहरूबाट चर्चित कलाकारहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

नेपाली चलचित्र तथा संगीत क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान गरिने यस अर्वाड कार्यक्रममा दुई जना विशिष्ट कलाकारलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ (जीवनकाल उपलब्धि पुरस्कार) प्रदान गरिने समेत आयोजकले जनाएको छ। उक्त अवार्ड नेपालका ख्यातिप्राप्त संगीतकार तथा गायक शम्भुजीत बास्कोटा र नेपालका प्रथम पप गायक ओम बिक्रम बिष्टलाई प्रदान गरिने छ।

कार्यक्रममा संगीत र चलचित्र क्षेत्रमा विशेष योगदान पुर्‍याएका अन्य चर्चित हस्तीहरूलाई विभिन्न विधामा सम्मान गरिने छ। नेपालबाट महानायक राजेश हमाल, गायक शम्भुजीत बास्कोटा, कार्यक्रम प्रस्तोता सुरजसिंह ठकुरी, मोडल नीति शाह, अभिनेता प्रशान्त ताम्राकार, कोरियोग्राफर तथा मोडल राहुल शाहलगायत थुप्रै कलाकारहरू न्युयोर्क आउने क्रम सुरु भएको आयोजकले जनाएको छ ।

समारोहलाई रोचक र आकर्षक बनाउन चर्चित मोडल तथा नृत्य कलाकार राहुल शाहसहित २० भन्दा बढी लोकप्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति सहितको विशेष स्टेज शो प्रस्तुत गरिने छ।

उक्त समारोहलाई सभ्य, भव्य र व्यवस्थित बनाउन व्यापक तयारी भइरहेको छ। कलाकारहरूको उचित व्यवस्थापन तथा सहजीकरणका लागि सुविधा सम्पन्न Hotel Marriott बुक गरिएको छ। नेपाल तथा अमेरिका भरीका विभिन्न राज्यहरूबाट आउनु हुने कलाकारहरूलाई न्युयोर्कमा भव्य स्वागत गरिने आयोजकले जनाएको छ ।

यस अवार्ड कार्यक्रमलाई एउटा कार्यक्रम मात्र नभई भविष्यमा एक फिल्म फेस्टिवलको रूपमा विकास गर्ने आयोजकको लक्ष्य रहेको छ। नेपाली संगीत र चलचित्र क्षेत्रका कलाकारहरूलाई एउटै अन्तर्राष्ट्रिय मञ्चमा सम्मान गर्ने यो ऐतिहासिक अवसर न्युयोर्क तथा आसपासका क्षेत्रहरूमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायका लागि गर्वको विषय भएको आयोजकको भनाई छ ।
उक्त भव्य समारोहमा सक्रिय सहभागिताका लागि आयोजकले सबैमा अनुरोध समेत गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार