काठमाडौं । भक्तपुरको चाँगुनारायण ७ की सावित्रा भट्टराईको आफ्नै छोरीले प्रेमीसँग मिलेर हत्या गरेको खुलेको छ। आइतबार बिहान उनको चक्कु प्रहार गरी हत्या भएको थियो ।
हत्याको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले उनको हत्यामा छोरीकै संलग्नता रहेको खुलाएको छ । हत्या अनुसन्धानमा जुटेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले हत्याको आशंकामा उनकी छोरी ईश्वरीसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने मध्येका एक हुन् सिरहाका मोहम्मद नौशाद । उनलाई प्रहरीले गएराति धादिङबाट पक्राउ गरेको हो । हत्याको कारण छोरी र उनका प्रमीबीचको सम्बन्ध हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रहरीका अनुसार हत्या गरिएकी महिलाको घर सिन्धुपाल्चोक हो। श्रीमानले दोस्रो विवाह गरेपछि उनी कान्छी छोरी ज्वाइँको घरमा बस्दै आएकी थिइन्।
छोरीको प्रेम सम्बन्धका बारेमा आमालाई थाहा थियो । छोरीको प्रेम सम्बन्ध थाहा भएकै कारण उनको हत्या गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक जानकारी छ ।
प्रहरीका अनुसार प्रेमीसँग मिलेर उनले आमाको हत्या गर्न भारतीय कन्ट्राक्ट किलर (भाडाका अपराधी) भाडामा प्रयोग गरिएको पाइएको छ । भारतीय नागरिक अर्जुन कुमार भनिने भोला कुमार र मोहमद रइसलाई उनले १२ लाख रुपैयाँ मा सुपारी दिएकी थिइन् ।
आमाले आफ्नो प्रेम सम्बन्धका बारेमा थाहा पाएपछि अरुलाई पनि भन्छन् र यो कुरा बाहिर आउछ भन्ने डरले नै उनले प्रेमीको सहयोगमा भाडामा मान्छे ल्याएर आमाको हत्या गरेकी छन् ।









