लगातारको पानीले पहिलो खस्दा बाजुराको बुढीगंगा नदी थुनियो

बाजुरा । लगातारको वर्षासँगै पहिरो खसेका कारण बाजुरा जिल्लाको सबैभन्दा ठूलो बुढीगंगा नदी थुनिएको छ। बुढीगंगा र त्रिवेणी नगरपालिकाको बीच द्वारीमा रहेको उक्त नदी त्रिवेणी नगरपालिका-९ पैमाबाट खसेको पहिरोका कारण थुनिएको हो।

दुई दिनयता आएको अविरल वर्षाका कारण त्रिवेणीको क्षेत्रबाट खसेको पहिरोले नदीलाई एकातिर पारिसकेको र अर्कोपट्टि पनि पहाड भएकोले बीचमै नदी थुनिएको हो। ‘हामीले गृह मन्त्रालय र सम्बन्धित सबै निकायतिर खबर गरेका छौं,’ प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले भने।

पहिरोले नदी थुनिएपछि पैमाको बस्ती जोखिममा परेको छ। नदी थुनिँदै गएपछि बुढीगंगा नगरपालिका-१ अम्कोट र बल्देको बस्ती सार्नुपर्ने अवस्था आएको स्थानीय प्रशासनले जनायो।

पहिरोले ठूला ढुङ्गा र पहाड नै खस्न थालेपछि नदीले खतरा निम्त्याउने स्थानीय प्रशासनको आँकलन छ।

जोखिम बढेपछि नेपाली सेना र प्रहरीलाई त्यसतर्फ खटाइएको प्रशासनले बताएको छ। नदी थुनिएको खतरासँगै नजिकै रहेको खेतीयोग्य जमिन, झोलुङ्गे पुल र साँफे मार्तडी सडकखण्ड उच्च जोखिममा परेका छन्। नदी थुनिएकाले अछाम जिल्लामा पनि उच्च सर्तकता अपनाइएको छ।

साँफेबगरका स्थानीय पनि त्रसित बनेका छन्। थुनिएको नदी जतिबेला पनि फुट्न सक्ने भएकाले स्थानीय त्रासमा परेका हुन्।

नदी अघिल्लो वर्ष पनि सात दिनसम्म थुनिएको थियो। पैमाबाट दसकयता पहिरो बग्ने गरेको छ। पहिरो झर्ने मात्रा बढेपछि नदी थुनिन पुगेको त्रिवेणी नगरपालिकाका प्रमुख रामसिंह रावलले बताएकाे बाजुराबाट रमित विकले पठाएकाे खबर सेताेपाटीले छापेकाे छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार