छठको बिषेश दिन आज, अस्ताउँदो सूर्यको पूजा गरिँदै

काठमाडौं । आज छठ पर्वको बिषेश दिन असताउँदो सुर्यको पुजा, आराधना र उपासना गरेर मनाइदैछ । छठको तेस्रो दिन आज काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा बिहानैदेखि पर्वको विशेष रौनक छाएको छ ।

छठको मुख्य दिन मानिने आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिने चलन छ । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुन्छ ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको मानिन्छ ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको विश्वास गरिन्छ ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।

यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्कोबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् । छठ पर्वका लागि राजधानीका विभिन्न पोखरीका किरानमा सजावट गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार