
कैलाली । राष्ट्रपति बिद्यादेवी भण्डारीद्धारा कैलालीमा आयोजित विश्व नेपाली साहित्य महोत्सवको भव्य उद्घाटन भएको छ ।
एकसातासम्म चल्ने उक्त महोत्सवमा साहित्य, समाज, राजनीति र समसामयिक बिषयहरु सत्रगत छलफल हुने आयोजक सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीले जानकारी दिए ।
उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले सुदूरपश्चिम प्रदेश विभिन्न भौलिक कला सस्कृती र साहित्यका लागि देशकै एक उर्वर भूमि भएको बताएकी छन् ।
राष्ट्रपति भण्डारीले पहलमानसिंह स्वार र जयपृथ्वीबहादुर सिंहलाई स्मरण गर्दै भनिन्, “सुदूरपश्चिम प्रदेश आफ्नै मौलिक कलासंस्कृती, भाषा, रहनसहनले भरिपुर्ण छ । पहलमानसिंह स्वार, जयपृथ्वीबहादुर सिंह जस्ता स्रष्टाहरुको योगदान यहाँ मात्रै सिमित नभएर सिंगो देशमा अतुलनीय छ ।”
कार्यक्रममा राष्ट्रपति भण्डारीलाई उच्च सम्मान गर्दै नागरिक अभिनन्दन समेत गरिएको छ ।
उद्घाटन समारोहमा शताब्दी पुरुष सत्यमोहन जोशी, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसहित विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।
उक्त महोत्सवमा पूर्वप्रधानमन्त्रीद्धय डा. बाबुराम भट्टराइ र लोकेन्द्रबहादुर चन्द, उद्योग मन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सांसद भीम रावल, गगन थापा, नारदमुनि राना, प्रेम आलेलगायतका नेताहरुले राजनीति तथा विकासका विषयमा वक्तव्य दिने कार्यक्रम तय गरिएको छ ।
त्यसैगरी विश्वभर रहेका नेपाली भाषी साहित्यकारहरुको समेत कार्यक्रममा सहभागिता र प्रस्तुती रहने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार सिक्कीमका पूर्वमुख्यमन्त्री पवन चामलिङ, प्रा.डा. बाशुदेव त्रिपाठी, डा. विष्णुविभु घिमिरे, मनु मञ्जिलले काव्य सभामा वक्ता रहने छन् ।
कार्यक्रम तालिका अनुसार चामलिङले “स्वाभीमानी जातिका स्वाभिमानी पाइला” विषयको वहसमा भाग लिने छन् ।
महोत्सवमा स्वदेश तथा विदेशमा रहेका २०० भन्दा बढी लोकपृय नेपाली भाषी लेखक, कवि र साहित्यकारको सहभागिता रहेको आयोजकले बताएको छ ।
साताव्यापी अन्तर्राष्ट्रियस्तरको साहित्यिक कार्यक्रम सुदूरपश्चिम प्रदेशमा यो पहिलो पटक आयोजना गरिएको हो ।
कार्यक्रमले सुदूरपश्चिमको भाषा, कला संस्कृती, साहित्यको प्रचार प्रसार भइ विकासमा समेत ठुलो टेवा पुग्ने विश्वास गरिएको छ ।










