
बाजुरा । गृहमन्त्री रामबहादुर थापा बाढी पीडितको अवस्था बुझ्न बाजुरा पुगेका छन् । उनी मंगलबार हेलिकप्टरमार्फत बाजुरा पुगेका हुन् ।
काठमाडौंबाट जहाजमार्फत सुर्खेत र त्यहाँबाट हेलिकप्टरमार्फत बाजुरा पुगेका उनले बाढी प्रभावितको अवस्था बुझ्नुका साथै राहत पनि उपलब्ध गराएका छन् ।
बाजुराको बडिमालिका नगरपालिका २ घागरमा साउन २५ गते राति आएको बाढीले बस्ती नै बगाएर बगर बनाएको छ । त्यस्तै गौमुल गाउँपालिका र बुढीगंगा नगरपालिकाका नदी छेउका स्थानीयहरुको घर बगाउँदा अहिले पाल बुनि छाक काटिरहेका छन् ।
बाढीले विभिन्न ठाउँमा लाखौको क्षति गरेको छ भने, भौतिक संरचना पनि बगाएको छ । अहिले बाढीले साँफे मार्तडी सडक खण्डका विभिन्न ठाउँमा पहिरो जानुका साथै, पुल बगाउँदा आवाजत आवतमा पनि समस्या भएको छ ।
यसअघि साउन २६ गते नै बाजुरा जाने योजना भएपनि मौसमका कारण आउन नसकेको उनले बताएका छन् । गृहमन्त्रीसँगै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहसहितको टोलीले बाढी प्रभावित क्षेत्रको अनुगमन गरेको छ ।










