माओवादीले महिलालाई ‘उपमेयर’मा सीमित नगर्ने मेयर नै बनाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी स्थानिय तहको निर्वाचनमा महिलालाई ‘उपमेयर’मा सीमित नगर्ने भएको छ ।
पार्टका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले स्थानीय तह निर्वाचन केन्द्रीत ५ बुँदे विशेष जारी सर्कुलरमा महिलालाई ‘उपमेयर’मा सीमित नगर्ने भएको हो ।

माओवादी केन्द्रले स्थानीय तहमा उपमेयरलाई सीमित नगर्नका लागि महिलालाई प्रमुख भूमिकामा नै अघि बढाउने निर्णय गरेको जनाएको छ। पार्टीहरुले महिलालाई उपमेयरमा सीमित गरेको टिकाटिप्पणी हुँदै आएको बेला माओवादीले हरेक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्षमा महिला अनिवार्य गर्न सर्कुलरमा भनेको छ ।

यस्तै कम्तिमा एउटा वडा अध्यक्षमा महिलाको उम्मेदवारी दिन विशेष जोड गर्ने पनि माओवादीले निर्णय गरेको छ । यसअघि माओवादीले पार्टीका हरेक निकायमा पनि ३५ प्रतिशत प्रतिनिधित्वको व्यवस्था गरेको थियो ।

केन्द्रीय कार्यालयको तर्फबाट प्रचण्डले स्थानीय तहका उम्मेदवार छनौटका लागि आवश्यक विधि र प्रक्रिया अवलम्वनका लागि मातहतका कमिटीमा सर्कुलर पठाएको हो । जारी सर्कुलरमा स्थानीय तहमा केन्द्रको स्वीकृति बिना आफूखुसी गठबन्धन तोड्न रोक समेत लगाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार