
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा चुनावका लागि आफ्ना उम्मेदवारको टुंगो लगाएको छ। उम्मेदवारको टुंगो लगाउन निकै लामो रस्साकस्सीपछि कांग्रेसले आज बिहान मात्रै आफ्ना १० जना उम्मेदवारको टुंगो लगाएको हो । १० जना मध्ये नेता शेखर कोइराला र गगन थापा पक्षको भागमा ४ जना परेका छन्।
कांग्रेस प्रवक्ता प्रकाशशशरण महतले दिएको जानकारीअनुसार सातै प्रदेशमा उठाएका १० जना उम्मेदवारमध्ये कोशी प्रदेशमा कृष्णप्रसाद सिटौला, मधेश प्रदेशमा आनन्दप्रसाद ढुंगाना, त्यस्तै बागमती प्रदेशमा अन्यतर्फ जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनी, गण्डकी प्रदेशमा अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगतर्फ पदमबहादुर परियार, लुम्बिनीमा महिलातर्फ विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
लुम्बिनीमा महिलातर्फ विष्णुकुमारी सापकोटा, कर्णालीमा अन्यतर्फ कृष्णबहादुर रोकाया र सुदूरपश्चिममा अन्यतर्फ बलदेव बोहरा र अपांगता तथा अल्पसंख्यकतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने काँग्रेसले निर्णय गरेको छ ।
उम्मेदवार चयनमा महामन्त्री गगनकुमार थापाले लिखित रुपमा फरक मत राखेका छन् । केन्द्रीय कार्यसमितिले गरेको निर्णयभन्दा फरक मापदण्डबाट उम्मेदवार चयन भएको भन्दै उनले लिखितरुपमै फरक मत राखेका बताएका छन् ।












