काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरतसिंह भण्डारीले कोरिया सरकारलाई धेरै भन्दा धेरै नेपाली कामदार लगिदिन आग्रह गरेका छन् ।
ललितपुरमा बिहीबार कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र कोरियाको मानव स्रोत विकास सेवा (एचआरडी) कोरियाले संयुक्त रूपमा एचएएमआई ‘हामी’ नामक मोबाइल एप्लिकेसन सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले कोरिया सरकारलाई नेपालबाट अझै धेरै नेपाली कामदारहरु लगिदिन आग्रह गरेका हुन् ।
नेपालीका लागि वैदेशिक रोजगारीको आर्कषक गन्तव्य दक्षिण कोरिया रहेकाले पनि कोरियाले नेपालबाट लैजाने कामदार कोटामा बृद्धि गर्नुपर्ने उनको भनाई थियो ।
इपीएसमार्फत कोरिया जानका लागि भाषा पास गरेर धेरै नेपालीहरु पर्खिरहेकाले पनि कोरियाले नेपाली कामदारको कोटा बृद्धि गर्नुपर्ने मन्त्री भण्डारीले बताए । कोरियाको विकासमा नेपाली कामदारको पनि योगदान रहेको बताउँदै उनले कोरिया सरकारले नेपालमा तालीमको ब्यवस्था गरेर धेरै भन्दा धेरै कामदार लैजाने ब्यवस्था गरिदिन आग्रह गरे ।
मन्त्री भण्डारीले कोरियाको इ सेभेन भिसामा कामदार पठाउने बिषयमा सरकारले काम गरिरहेको समेत जानकारी दिए ।
कार्यक्रममका बोल्दै उनले छोटो समयमा कोरियाले विकासमा फड्को मारेको र त्यसबाट नेपालले धेरै कुरा सिक्नुपर्ने बताए ।
रोजगारका लागि एक देशबाट अर्को देशमा जाने चलन विश्वभर नै रहेको बताउँदै मन्त्री भण्डारीले नेपालले पनि दक्ष कामदार उत्पादनमा ध्इान दिनुपर्ने बताए ।
नेपाली कामदारहरुले विदेशमा सिकेको सीप, ज्ञान र दक्षतालाई स्वदेशमा उपयोग गर्नुपर्ने उनको भनाई थियो । सरकारले विभिन्न सीपमुलक तालीम र रोजगारका बिषयमा अनलाइनमार्फत जानकारी दिने गरेको समेत उनले बताए । मन्त्री भण्डारीले श्रम मन्त्रालयमा कामदारका विभिन्न समस्याहरुलाई सुनुवाई र सम्बोधन गर्न एआइ जडित कल सेन्टरको सुरुवात गरिएको जानकारी दिए ।
भिडियो
यो पनि पढौं
कोरिया जाने र फर्केका श्रमिकहरूका लागि ‘हामी’ मोबाइल एप सार्वजनिक