
काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । आज बसेको १७औं नगरसभाको पहिलो बैठकमा आगामी आर्थिक बर्षका लागि बजेट घोषणा गरिएको हो । बैठकमा उपप्रमुख सुनिता डंगोलले बजेट सार्वजनिक गरेकी हुन् । बैठकमा मेयर बालेन्द्र शाह (बालेन) ले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
क्षेत्रगत रूपमा प्रस्तुत बजेट तथा कार्यक्रमअन्तर्गत आर्थिक विकासमा कुल बजेटको ३ प्रतिशत अर्थात ७५ करोड ३४ लाख ३० हजार रुपैयाँ प्रस्ताव गरिएको छ । त्यसैगरी सामाजिक विकासमा २० प्रतिशत अर्थात ५ अर्ब २ करोड २८ लाख ६८ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।
पूर्वाधार विकासतर्फ ५१ प्रतिशत अर्थात १२ अर्ब ८० करोड ८३ लाख १४ हजार रुपैयाँ रहेको छ भने सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत अर्थात ३ अर्ब १ करोड ३७ लाख २१ हजार प्रस्ताव गरिएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्र तर्फ १४ प्रतिशत अर्थात ३ अर्ब ५१ करोड ६० लाख ८ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।

बजेटमा महानगरपालिका क्षेत्रभित्रका पूर्वाधार योजनाहरूलाई उच्च प्रथामिकतामा राखिएको छ । महानगरभित्र फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार, सुशासन प्रवर्द्धन, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको क्षमतावृद्धि, एक वडा एक उद्यम कार्यक्रमलाई प्रवर्द्धन गरी रोजगारी र आयवृद्धि गर्ने कार्यक्रमलाई उच्च प्राथामिकतामा राखिएको उपमेयर डंगोलले बताइन्।
संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भए पनि काठमाडौं महानगरभित्रको आन्तरिक द्वन्द्वका कारण आज मात्रै बजेट आएको छ । । महानगरमा प्रमुख प्रशासकिय अधिकृत सरोज गुरागाँईलाई लिएर विवाद छ । जसको असरले महानगरको बजेट समेत ढिला भएको छ ।
बजेट ल्याउन ढिला भएकोमा उपप्रमुख डंगोलले माफी समेत मागेकी छन् ।














