
काठमाडौं । तराई–मधेशमा खडेरी र सुख्खायामले कृषकहरु पीडामा रहेको भन्दै आन्दोलनमा उत्रिएका युवाहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ऐक्यबद्धता जनाएका छन् ।
पेरिसडाँडास्थित माओवादीको केन्द्रिय कार्यालय पुगेका आन्दोलनरत युवाहरुलाई भेट्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् ।
युवा अभियन्ता शिव यादवको नेतृत्वमा गएको टोलीले प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै तराई-मधेसमा देखिएको पानी लगायतका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
अध्यक्ष प्रचण्डले तराई–मधेसमा देखिएको खडेरी र त्यसले किसानलाई पारेको प्रभावबारे आफु गम्भिर रहेको र संसदमा यसबारे जोडदार आवाज उठाउनका साथै समस्या समाधानका लागि सरकारको गम्भिर ध्यानार्कषण गराउने प्रतिवद्धता समेत जाहेर गरेका छन् ।
युवाहरुले थालेको आन्दोलनमा माओवादी केन्द्रको साथ, सर्मथन र ऐक्यवद्धता रहेको बताउँदै उनले जनस्तरबाट पनि दवाव जारी राख्न आग्रह गरे ।
तराई–मधेसमा केहि बर्ष यता समयमै बर्षा नहुने, जमिनबाट पनि सुक्दै गएका कारण त्यहाँका कृषकहरु ठुलो मारमा पर्दै आएका छन् । खेतीको समयमा जेनतेन रोपाई गरे पनि बर्षा नहुँदा रोपेको धान बेर्ना सुकेर खेत नै चर्किरहेका छन् । जसकारण कृषकहरु निकै पीडामा रहेको भन्दै मधेसबाट प्रतिनिधित्व गर्ने युवाहरुले माइतीघरमा प्रर्दशन समेत गरिसकेका छन् ।

तराई–मधेसको खडेरी र सुख्खापनले कृषक पीडामा रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टरबाट निरिक्षण गरेर किसानलाई झुटो आश्वासन दिएको अभियन्ता शिव यादवको भनाई छ ।
प्रधानमन्त्रीले निरिक्षणका नामका राजनीतिक स्टन्ट गरेर पीडामा रहेका किसानहरुलाई थप पीडा दिएको अभियन्ता यादवले बताए ।
सरकारले तराई–मधेसमा खडेरी र सुख्खपनको दिर्घकालिन समाधान खोजेन भने किसानहरु जुनसुकै खालको आन्दोलनमा जान बाध्य हुने उनले चेतावनी समेत दिए ।
राज्यकै संरक्षणमा चुरे दोहन, बन फडानी लगायतका गतिविधिले तराई–मधेसमा खडेरी र सुख्खापनको विकराल समस्या निमत्याएका कारण राज्य नै यसको प्रमुख जिम्मेवार रहेको अभियन्ता यादवको भनाई छ ।
ज्ञापनपत्र पढौं













