मन्त्री चौधरीद्धारा मानव र वन्यजन्तुबीचको द्वन्द्व अन्त्यको प्रयासः २० वडामा नमूना परियोजना सुरु गर्दै


काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मानव र वन्यजन्तुबीचको द्वन्द्व व्यवस्थापनका लागि प्राविधिक समिति (टास्क फोर्स) गठन गरिएको छ । मन्त्री चौधरीको पहलमा वन्यजन्तुबाट हुने क्षति नियन्त्रण, नीति तथा कार्यक्रम सुधार र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका लागि टास्क फोर्स गठन गरिएको हो ।

मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन विशेषज्ञको संयोजकत्वमा १५ सदस्यीय टास्क फोर्स गठन गरिएको मन्त्रीको सचिवालयले जनाएको छ । टास्क फोर्सले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन, वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानुन संशोधनका लागि सिफारिस गर्नेछ । त्यस्तै, सूचकका आधारमा २० वटा वडामा नमुना परियोजना छनोट गरी कार्यान्वयन, प्राविधिक सहयोग तथा अनुगमन गर्ने जिम्मेवारी पनि टास्क फोर्सलाई दिइएको छ ।

संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै कार्यक्रम कार्यान्वयन गरिने तथा क्षतिग्रस्त बालीको राहत प्रणालीलाई सरल, प्रभावकारी र समयसापेक्ष बनाउन सुझाव दिने व्यवस्था पनि गरिएको छ ।

मन्त्री चौधरीले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा आफू गम्भीर रहेको बताउँदै टास्क फोर्सले दिएको सुझावका आधारमा कार्य गर्न प्रतिबद्ध रहेको बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार