जाजरकोट । जाजरकोटमा पहिरोमा परी एकै घरका ३ जनाको मृत्यु भएको छ । जिल्लाको भेरी नगरपालिका– २ तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुर्दा उनकी श्रीमतीसहित दुई छोरीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार आइतबार बिहान करिब २ बजेतीर घरमाथी पहिरो जाँदा दल बहादुरकी ३२ वर्षीया श्रीमती पार्वती वली, छोरीहरु ९ वर्षीया मोतीकला वली र ३ वर्षीया धनसरा वलीको पहिरोमा परी मृत्यु भएको हो ।
उनिहरु घरभित्र सुतिरेहको बेला एक्कासी घरमाथी पहिरो जाँदा पुरिएर मृत्यु भएको जाजरकोटका प्रहरी नायब उपरीक्षक श्याम खत्रीले जानकारी दिए ।
उनका अनुसार बलबहादुर घर बाहिर सुतेका कारण बाँच्न सफल भएका छन ।
घटना भएको थाहा पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालयबाट उद्धारका लागि सुरक्षाकर्मीको टोली घटनास्थल पुगी अन्य उद्धारको काम गरेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।











