
धनुषा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, र डा. बाबुराम भट्टराईले नेतृत्व गरेको समाजवादी पार्टीबीच एकता हुने भएको छ । राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले दुई पार्टीबीच एकता हुने बताएका छन् ।
बुधबार जनकपुरमा संचारकर्मीसंग कुराकानी गर्दै महतोले समाजवादी पार्टीले सरकार छाडेपछि समानताको आधारमा पार्टी एकता हुने बताएका हुन । उनले जनताको माग र वैकल्पिक शक्ति निर्माणका लागि पार्टी एकता हुनुपर्ने समेत बताए ।
वैकल्पिक राजनितिक शक्ति निर्माणका लागि ६ वटा मधेशवादी दल एकीकरण भइसकेको र अब समाजवादी पार्टीसँग पनि एकता हुनुपर्ने उनले भनाई छ । सत्तारुढ नेकपा र काँग्रेसविरुद्ध एक सशक्त वैकल्पिक पार्टीको खाँचो रहेकाले त्यसको निर्माण राजपा र समाजवादी मिलेर पुरा गर्ने नेता महतोले बताए ।
दुई पार्टीबीच एकता हुनुपर्ने जनताको चाहना रहेकाले दुई पार्टीका शिर्ष नेताहरुबीच एकताका बिषयमा छलफल भइरहेको समेत उनले जानकारी दिए ।
नेता महतोले संविधानलाई संशोधन गरेर सर्वस्विकार्य बनाउन सरकारको ध्यानाकर्षण समेत गराए । हिमाल, पहाड, तराई मधेसका सम्पुर्ण जनतालाई समानरुपले अधिकार सम्पन्न बनाउनेगरी संविधान संशोधन गरिनु पर्नेमा उनले जोड दिए । नेता महतोले संविधान संशोधन गर्नका लागि बर्तमान सरकारले बेवास्ता गरिरहेकाले संशोधनको पक्षमा रहेका दलहरु एकजुट भएर दवाब दिनुको विकल्प नरहेको समेत बताए ।










