
काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेबाट सुरु गरिएको लकडाउन असार १ गतेबाट केही खुकुलो बनायो । असार १ गतेबाट नीजि सवारी जोर विजोर प्रणालीमा सञ्चालन भएका छन् भने, सकारी र गैर सरकारी कार्यालय, नीजि कम्पनी, पसल, सपिङ मलहरु खुल्ला छन् ।
सडकमा जाम छ, काठमाडौं बाहिरबाट आउने व्यक्तिहरुको भिडभाड उस्तै छ । लकडाउन खुकुलो भएसँगै संक्रमितको संख्या पनि बढेको छ । देशैभरीको अवस्था हेर्दा कोरोना संक्रमण अझै बढ्ने देखिन्छ ।
यो अवस्थामा सरकारले अब फेरि लकडाउन गर्ने योजना बनाएको छ । तर, अबको लकडाउन पहिलेको जस्तो सोलोडोलो रुपमा नहुने सरकारले बताएको छ ।
कपितय स्थानीय तहले आफ्नो ठाउँमा कोरोना संक्रमितको संख्या बढेसँगै आफैले उक्त ठाउँ सिल गरेका छन् । सरकारले पनि अब संक्रमणको अवस्था हेरेर ठाउँअनुसार लकडाउन गर्ने योजना बनाएको छ ।
यसअघि नै मन्त्रिपरिषद्ले लकडाउनको मोडालिटी परिवर्तन गरिसकेको छ । अब सोही मोडालिटीअनुसार नै लकडाउन अगाडि बढाइने छ । स्कुल, सावर्जनिक यातायात, सिनेमा, ठूला रेष्टुरेन्ट अहिले नै सञ्चालन हुँदैनन्। सार्वजिनक सभा समारोह पनि गर्न पाइने छैन् ।
संक्रमण भएर सोचेभन्दा भयावह ढंगले आयो भने निश्चित क्षेत्रलाई पूर्ण रूपमा सिल गरिने छ ।
गृह मन्त्रालयले लकडाउन व्यवस्थित गर्नेसम्बन्धी सुरक्षा मापदण्ड २०७७ बनाएको छ । सोही मापदण्ड अनुसार अबको लकडाउन अगाडी बढाइने छ ।
सरकारले महामारीबाट पनि बच्नु पर्ने र सँगै भोकमरीसँग पनि जुध्नुपर्ने भएकाले यसका लागि गतिविधि बढाउन मोडालिटी परिवर्तन गरिएको बताएको छ ।
कृषि उत्पादन ल्याउने लैजाने र औद्योगिक कामहरू पहिलादेखिनै भइरहेका छन् । नागरिकले पनि कोरोना महामारीका बेला बुझेर सडकमा निष्किने, आवातजावत गर्ने र सरसफाईको बारेमा पनि ध्यान दिने गर्नु पर्दछ ।









