
कैलाली । सुदूरपश्चिम प्रदेशका कोरोना संक्रमितहरुको उपचारमा पनि अक्सिजनको चर्को अभाव भएपछि स्थानियस्तरबाट अक्सिजन प्लान्ट स्थापना गर्न पहल थालिएको छ ।
कैलालीको धनगढीमा अक्सिजन प्लान्ट स्थापनाका लागि सुरु गरिएको अभियानमा सहयोग गर्नेहरु जुटिरहेका छन् । प्लान्ट स्थापनाका लागि स्थानिय उद्योगी, ब्यवसायी, कर्मचारी, सर्वसाधारण लगायतहरुले आर्थिक सहयोग गरिरहेका छन् । यहि क्रममा धनगढीका व्यवसायी सञ्जयकुमार चौधरी एक्लैले रु २० लाख प्लान्ट स्थापनाका लागि सहयोग गरेका छन् ।
चौधरी बुक डिपोका सञ्चालक समेत रहेका चौधरीले उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा उक्त रकम जम्मा गरेका हुन् ।
धनगढी उपमहानगरपालिकामा स्थापना हुन लागेको अक्सिजन प्लान्ट र अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि आफुले उक्त आर्थिक सहयोग गरेको उनले बताएका छन् । कोरोना महामारीमा अक्सिजनको अभावमा कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले स्थापना गरिन लागेको अक्सिजन प्लान्टका लागि सबैले सकेको सहयोग गर्नुपर्ने उनको भनाई छ ।










