
हेटौंडा । प्रधानमन्त्री केपी ओलीबारे आपत्तिजनक अभिब्यक्ति दिएर आलोचित बनेका बागमती प्रदेश सांसद निरोत्तम वैद्यले अन्तत माफी मागेका छन् । शनिवार संसदमा बोल्दै उनले आवेगमा आएर प्रधानमन्त्रीबारे गलत बोलिएको भन्दै माफी मागेका हुन् ।
सांसद वैद्यले संसदीय मर्यादाविपरीतको अभिव्यक्ति दिएपछि चौतर्फी आलोचित बनेका थिए । वैद्यलाई उनको दल नेपाली काँग्रेसले आज बिहान मात्रै प्रेस विज्ञप्तिमार्फत आफ्नो अभिब्यक्ति फिर्ता लिई निसर्त माफी माग्न निर्देशन दिएको थियो ।
“मैले हिजो संसद्को रोस्ट्रममा उभिएर प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्रीप्रति लक्षित गर्दै मबाट प्रयोग भएको शब्दहरु आपत्तिजनक र संसदीय मर्यादाविपरीत भएको भनी मेरो संसदीय दलले उक्त अभिव्यक्ति फिर्ता लिन निर्देशन गरेअनुसार आफ्नो भनाई फिर्ता लिन्छु”, सांसद वैद्यले भने ।
उनले आफ्नो उक्त अभिब्यक्ति संसदको रेकर्डबाट हटाईदिन समेत सभामुखलाई आग्रह गरेका छन् ।
“हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरु राजनीतिक दलहरुलाई समेत लोकतान्त्रिक अभ्यासमा प्रेरित गर्दै संयोजन गरेको दलको एक सिपाहीको नाताले आफूले बोलेको उक्त अभिव्यक्ति फिर्ता लिँदै रेकर्डबाट हटाउन सभामुखसमक्ष आग्रह गर्दछु,” उनले भने ।
शुक्रबारको नीति तथा कार्यक्रमको छलफलमा बोल्दै सांसद वैद्यले प्रधानमन्त्री ओलीलाई ठिक पार्न भारतका नाथुराम गोड्से बन्नुपर्ने बताएका थिए । गोड्सेले भारतका महात्मा गान्धीको गोली हानी हत्या गरेका थिए ।
वैद्यद्धारा जारी विज्ञप्ति













