सांसद नरोत्तम वैद्यविरुद्ध हत्या दुरुत्साहनको मुद्धा दर्ता

(तस्बिर: वैद्यले माफी मागेको विज्ञप्तिसहित)

हेटौडा । बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यविरुद्ध हत्या दुरुत्साहनको मुद्धा दर्ता गरिएको छ । प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति दिएको अभिव्यक्तिका कारण हत्या दुरुत्साहनको मुद्धा चलाइएको हो ।

वैद्यको सो अभिव्यक्तिले हत्या दुरुत्साहनको कानून आर्कषित हुने भन्दै एमालेको भातृ संगठन युवा संघ नेपाल मकवानपुरले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मुद्धा दायर गरेका छन् ।

संसदमा माफी माग्दा समेत सांसद वैदमाथि मुद्धा चलाइएको भन्दै उनको दल नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले आपत्ति जनाएको छ ।

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य वैद्यले बागमती प्रदेशको २०७८/७९ को नीति तथा कार्यक्रमको छलफलका क्रममा २८ जेठको बैठकमा प्रधानमन्त्री ओलीको हत्या गर्ने आसयको अभिब्यक्ति दिएका थिए ।

सो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि उनलाई काँग्रेसले निसर्त माफी माग्न निर्देशन दिए लगत्तै वैद्यले २९ जेठमा संसदमै माफी माग्दै सो अभिब्यक्ति संसदको रेकर्डबाट हटाउन समेत अनुरोध गरेका थिए ।

आत्मलोचना गर्दै माफी मागिएको भएपनि बदनियतपुर्ण ढंगले मुद्धा गरिएकाले तत्काल फिर्ता लिनुपर्ने काँग्रेसको माग छ । मुद्धा फिर्ता नभएमा कडा प्रतिवादमा उत्रिने कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार