
काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिट उपर आज हुने भनिएको सुनुवाई सरेको छ ।
संचारकर्मी रुपा सुनारले मन्त्री श्रेष्ठविरुद्ध दर्ता गरेको रिट उपर समय अभावका कारण आज हुने भनिएको सुनुवाई असार २३ का लागि सारिएको अधिवक्ता मोहन साशंकरले जानकारी दिए ।
जातीय कारण देखाउँदै कोठा नदिने काठमाडौं बबरमहलकी सरस्वती प्रधानलाई हिरासत मुक्त गराएर शिक्षामन्त्री श्रेष्ठले जातीय भेदभावलाई प्रसय दिएको भन्दै रुपाले उनिविरुद्ध सर्वोच्चमा रिट दर्ता गरेकी थिइन् ।
सर्वोच्चमा हिजो गरिएको रिट दर्तामा मन्त्रीसहित, महानगरीय प्रहरी वृत्त सिंहदरवार, सरकारी वकिलको कार्यालय काठमाडौं र घरबेटी सरस्वती प्रधानलाई विपक्षी बनाइएको छ ।
उनिहरुले जातीय भेदभाव तथा छुवाछूतको मुद्धामा अनुसंन्धान नगरेको र अपराधलाई प्रसय दिएकाले कानुन बमोजिम कारवाहीको माग गरिएको छ ।
असार १ गते घरबेटी प्रधानले जातकै कारण कोठा दिन नमानेको भन्दै रुपाले प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसपछि पक्राउ परेकी प्रधानलाई शिक्षामन्त्री श्रेष्ठले प्रहरीमै गएर हिरासत मुक्त गराएका थिए । मन्त्री श्रेष्ठको उक्त कदमको अहिले चौतर्फी विरोध भइरहेको छ ।
सत्ता पक्षकै दलित नेताहरुले मन्त्री श्रेष्ठले विभेदलाई प्रसय दिएकाले राजीनामा दिनुपर्ने माग समेत गरेका छन्। राजधानी काठमाडौंमा पटक पटक कोठा भाडाको बिषयलाई लिएर जातीय विभेदका घटनाहरु बाहिर आउने गरेका छन् ।












