
भैरहवा । प्रधानमन्त्री शेरबहादुर देउवा सवार हेलिकोप्टर भैरहवामा आकस्मिक अवतरण गरिएको छ । शुक्रबार काठमाडौंबाट धनगढीका लागि उडेको हेलिकोप्टर इन्धन सकिएपछि भैरहवामा आकस्मिक अवतरण गरिएको हो ।
हेलिकोप्टरमा प्रधानमन्त्री देउवासँगै शिक्षामन्त्री देवेन्द्र पौडेल पनि सवार थिए । प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा सवार थिए ।
नेपाली सेनाको उक्त हेलिकोप्टर इन्धन भर्नका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण भएको बताइएको छ । करिब २० मिनेट हेलिकप्टर रोकिएपछि प्रधानमन्त्री देउवाले राजनैतिक भेटघाट गरेका थिए ।
देउवालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, काँग्रेस रुपन्देहीका सभापति एवम् तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, काँग्रेस सिद्धार्थ नगर सभापति कोशिस बहादुर खड्का, तरुण दलका जिल्ला अध्यक्ष सोमबहादुर गुरुङ, नगर अध्यक्ष दिपेन्द्र बुढाप्रीती, युवा नेता एवम् पूर्व जिल्ला सदस्य ओमकुमार श्रेष्ठ लगायतका नेताहरुले भेटघाट गरेका थिए ।










