
काठमाडौं । नेपाली कांग्रेसले नेता प्रदीप गिरिको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ ।
आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आज, भोली र पर्सी गरी तीन दिनसम्म केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा आधा झण्डा झुकाउने र श्रद्धान्जली बाहेकका अरु कार्यक्रम नगर्ने निर्णय गरेको हो।
काँग्रेसले जनाएअनुसार भोलि केन्द्र र मातहतका सबै कार्यालय बन्द हुनेछ भने १३ दिनसम्म कार्यालयहरुमा शोक पुस्तिका राखिनेछ। १६ गते केन्द्र र सबै जिल्लामा शोक सभा गर्ने कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेको छ ।
प्रतिनिधि सभा सदस्य समेत रहेका नेता गिरिको गएराति ७५ वर्षको उमेरमा निधन भएको थियो । उनको आजै पशुपति आर्यघाटमा दाह संस्कार गरिने काँग्रेसले जनाएको छ ।












