
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकालमा आफूले भाषण कम र काम धेरै गर्ने बताएका छन् । आज चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्दै उनले यसपटक आफ्ने प्रधानमन्त्री कार्यकालमा भाषण कम गर्ने र काम धेरै गर्ने पक्षमा रहेको बताएका हुन् ।
अफ्नो बाँकी जीवन सुशासन र विकासका लागि सर्मपित गर्ने उदेश्य लिएको बताउँदै उनले यसपटकको कार्यकालमा भाषण कम र काम धेरै गरेर जनताको सेवामा प्रस्तुत हुने प्रतिज्ञा गरेको बताए ।
‘मैले बाँकी जीवन सुशासन र विकासकालागि समर्पित गर्ने भनेको छु । म अहिले धेरै भाषण गर्ने मनस्थितिमा छैन यो कार्यकाल । म भाषण कम काम धेरै र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु,’ प्रचण्डले भने ।
प्रधानमन्त्री प्रचण्डले हरेक दिन सुशासन र विकासको पक्षमा केही न केही काम गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरे।
सुशासन कायम गर्न, भ्रष्टाचार र बेथिती अन्त्य गर्न आफूले पहिलो मन्त्रिपरिषद बैठकबाटै निर्णय गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले जनतालाई सास्तीबाट मुक्त राख्ने आफ्नो प्रयास हुने बताए । कुनै पनि समाज र देशको विकासका लागि शिक्षा पहिलो कडि भएकाले शिक्षा क्षेत्रमा आफ्नो कार्यकालमा विशेष काम गर्ने योजना रहेको उनले बताए । प्रधानमन्त्रीले प्रचण्डले जनतालाई पिर मार्कामा पार्ने कुनैपनि निर्णयमाथि कठोर कदम चलाएर जनता र राष्ट्रको पक्षमा काम गर्ने संकल्प लिएको बताए ।









