काठमाडौँ । धर्नामा रहेका अभियन्त ‘ईः’ को स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले आज एक विज्ञप्ति जारी गर्दै धर्नामा रहेका अभियन्ता ‘ईः’ को स्वास्थ्य अवस्थाप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
आयोगले उनको स्वास्थ्यप्रति संवेदनशील बन्न र वार्तामार्फत यथाधीघ्र समस्याको निकास निकाल्न सुझाव समेत दिएको छ।
साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै काठमाडौँ महानगरपालिकाको कार्यालय, राष्ट्रिय सभागृह अगाडि उभिएर अभियन्त ‘ईः’ धर्ना दिइरहेका छन् । उनको स्वास्थ्य अवस्थाकारे आयोगको टोलीले हिजो अनुगमन गरेको थियो ।
‘अतः धर्नामा रहेका व्यक्ति ‘ईः’को स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई निजको जीवन रक्षाका लागि पहल गर्न, वास्तविक पीडित र साना सडक व्यवसायीहरुको पहिचान गरी उनीहरुलाई पेसा र रोजगारीको वैकल्पिक व्यवस्था गर्न आयोग नेपाल सरकार र काठमाडौँ महानगरपालिको ध्यानाकर्षण गराउँदछ,’ आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अभियन्ता ‘ईः’ ले उठाएको साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने माग मानव अधिकार उपभोगसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएको समेत आयोगको भनाई छ ।
‘रातिको १२ बजेदेखि ५ बजेसम्म कुर्चीमा बस्ने र बाँकी समय लौरो टेकेर उभिने गरेको, विगत ८ दिनदेखि उभिएर धर्ना गरिरहेका ईः का दुवै खुट्टा अस्वाभाविक रुपमा सुन्निएको, नाक र घाँटीको छाला खुइलिएको तथा रातो डाम परेको, सुन्निएको कम गर्नका लागि चिकित्सकको सल्लाहबमोजिम असोज ८ गतेदेखि औषधि सेवन गरिरहेको लगायतका जानकारीहरु अनुगमनबाट पाइएको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
महानगरसंगको वार्ता असफल भएपछि उनको स्वास्थ्य थपजटिल हुँदै गएको छ ।