
काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको समस्या अब सधैका लागि समाधान हुने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा आज बोल्दै उनले भिजिट भिसाको समस्या अब सधैका लागि समाधान बताएका हुन् ।
हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनेपछि गृहमन्त्रीको यस्तो प्रतिकृया आएको हो ।
गृहमन्त्री लेखकले सरकारले बनाएको समितिले निष्पक्ष अनुसंन्धान गरेर सुझाव दिने र त्यसलाई सरकारले कार्यान्वयन गर्ने समेत बताए ।
तर, सरकारले बनाएको समितिबाट समस्या समाधान नहुने भन्दै प्रतिपक्षी दल राप्रपा र रास्वपाले संसदमा विरोध जारी राखेका छन् ।
रास्वपा नेता एवम् सांसद डा. स्वर्णिम वाग्लेले गृहमन्त्रीको गोजीबाट निकालिएका बैरागी नेतृत्वको समितिलाई टालटुले समितिको संज्ञा दिएका छन् । संसद बैठकबाट बाहिर आएर संचारकर्मीलाई प्रतिकृया दिदै उनले बैरागी नेतृत्वको समितिप्रति कुनै विश्वास नरहेको उनले बताए ।
यस्तै संसद बैठकबाट बाहिरिएका रास्वपा सांसद सन्तोष परियारले भिजिट भिसा प्रकरणमा रास्वपाको आन्दोलन यथावत रहेको बताए ।
भिजिट भिसा प्रकरणको अनुसंन्धान गर्न जुन ब्यक्तिलाई नेतृत्व दिइयो उनि आफैमा विवादित ब्यक्ति भएकाले समिति मान्य नहुने रास्वपाका सांसदहरुको भनाई छ । प्रतिपक्ष दल राप्रपा र रास्वपाले आज पनि जारी संसद बैठक बहिष्कार गरेर बाहिर आएका छन् ।
पूर्वमुख्यसचिव वैरागीको संयोजकत्वमा बनाइएको ७ सदस्यीय समितिमा अर्थ मन्त्रालयका सहसचिव तीर्थराज चिलवाल, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सहसचिव अरुणा जोशी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न शर्मा र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोइराला सदस्य छन् । समितिको सदस्यसचिवमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले रहेका छन् ।
गृहमन्त्री लेखकले प्रतिनिधि सभामा गराएको जानकारी अनुसार समितिलाई नौ बुँदे कार्यादेश दिइएको छ ।










