
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रचण्डले विदेशीको नक्कल गर्दा नेपालमा मौलिक विकास हुन नसकेको बताएका छन् ।
भक्तपुरको चाँगुनारायणलाई एभोकाडो सिटीको रुपमा विकास गर्ने अभियानको आज समापन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले विदेशीको नक्कल गर्नुको साटो स्थानीय स्रोत, साधनको सदुपयोग गर्दै अभियान अघि बढाए मौलिक विकासको मोडेलसहितको देश बन्ने बताए ।
उनले विकासमा विदेशी मोडल नक्कल गर्नु दुर्भाग्यपूर्ण रहेको समेत बताए ।
‘हामीकहाँ अलि बढी विदेशी नक्कल गर्ने जो भयो, त्यो दुर्भाग्यपूर्ण छ, हाम्रो सिप, हाम्रो श्रम, हाम्रो स्रोत र हाम्रो साधनलाई हाम्रै तरिकाले अगाडि बढाउने कुराको एउटा अभियान चलाउन सकियो भने मलाई लाग्छ नेपाल साँच्चै संसारभरिकै सुन्दर त यसै छ, यसलाई मौलिक विकासको मोडेलसहितको देशमा बदल्न सकिन्छ’, प्रचण्डले भने ।

भक्तपुरको चाँगुनारायणलाई एभोकाडो सिटी बनाउने उदेश्यले गत साउन एक गतेदेखि अभियान सुरु भएको थियो ।
सो अभियानले प्रत्येक घरपरिवारलाई एभोकाडो फलका २ वटा बिरुवा निस्शुल्क प्रदान गरिएको थियो । यो अभियानलाई ३ वर्षसम्म सञ्चालन गरी चाँगुनारायणलाई एभोकाडो सिटीको पहिचान दिने लक्ष्य रहेको अभियानका संयोजक नरेश खड्काले बताए ।
हाल नेपालको धनकुटालाई एभोकाडोको राजधानी भनेर चिनिन्छ ।










