
धनुषा । धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएको छ ।
उनको नाम बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उम्मेदवारी खारेज भएको आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताए ।
कर्जा सूचना केन्द्रको फागुन ५ गतेसम्मको अद्यावधिक रिपोर्ट र कालोसूचीको नामसूची अनुसार कमला निर्माण सेवा प्रालिका सेयर होल्डर किशोरी साह कमलको नाम ४ ठाउँमा रहेको छ। सो सूचीमा उनकी श्रीमती अँजिला साह र किशोरी साह कमलको संयुक्त नाम क्रम संख्या ३८६३५ र कालोसूची नं. ६४२४५ मा सुरुमा कालोसूचीमा परेका छन्। २०८० असोज १७ गते कमल निर्माण सेवाको तर्फबाट उम्मेदवार किशोरी साह कमल र संजीत कुमार साहको नाम कालोसूचीमा उल्लेख छ। त्यसपछि क्रम संख्या ५२७४६, ५२७५० को कालोसूची नं. क्रमशः ८६३९१ र ८६३९६ मा परेका छन्।
मिति २०८० असोज २१ गतेमा कमल निर्माण सेवा प्रालिबाट किशोरी साह कमल र राजकिशोर महासेठको नाम कालोसूचीमा उल्लेख छ। क्रमसंख्या ५३१०४ मा कालोसूची नं. ८६९३० मा कालोसूचीमा परेका छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका २०८२ को १६ मा रहेको ब्यवस्था अनुसार उम्मेदवार कालोसूचीमा रहेको पाइएमा उजुरीको आधारमा छानबिन गरी उम्मेदवार अयोग्य ठहरिने उल्लेख छ।
धनुषा-१ मा एमालेबाट रामचन्द्र मण्डल, कांग्रेसबाट राम पलटन साह र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट मातृका प्रसाद यादव उम्मेदवार रहेका छन्।










