काठमाडाैं । आजभोली मेकअप महिलाहरुका लागि अनिवार्य आवश्यकता जस्तै भइसकेको छ । सामान्यतया महिलाहरुले घर बाहिर निष्किनु पर्यो भने मेकअप गर्ने गर्दछन् । मेकअपले महिलाको सौन्दर्य बढाउछ ।
अनुहारको सुरक्षाका लागि समेत मेकअप गरिन्छ । तर, मेकअपमा प्रयोग गरिने प्रडक्ट र आफ्नो छालाको प्रकृतिबारे भने सचेत हुन आवश्यक हुन्छ । किनकि, खराब मेकअपले क्षणिक रूपमा सुन्दर देखिए पनि पछि कुरूपसमेत बनाउन सक्छ । त्यसैले मेकअप गर्दा निम्न कुरामा ध्यान दिनु जरुरी छ ।
- अनुहारलाई पूर्ण रूपमा सफा गरेर मात्र मेकअप गर्नुपर्छ । अनुहार सफा गर्दा छालाको प्रकृतिअनुसारकै फेसवास प्रयोग गर्नुपर्छ । जस्तो पायो त्यस्तै फेसवासले छालामा संक्रमण ल्याउन सक्छ ।
- मोस्चराइजर प्रयोग गर्दा छालाको प्रकृतिबारे जानकार हुनुपर्छ । सुत्नुअघि राम्रोसँग अनुहार सफा गरी नाइट क्रिम लगाएमा स्किनमा चमक ल्याउन सहयोग मिल्छ ।
- हतारमा मेकअप कहिल्यै पनि गर्नुहुँदैन । जहिले पनि मेकअप गर्दा बेस राम्रो बनाउन जरुरी छ । अनि, बिस्तारै प्रक्रियाअनुसार मेकअप गर्नुपर्छ ।
- आँखावरिपरि कालो दाग छ भने फाउन्डेसनले छोपिदिनुपर्छ । वाटरप्रुफ प्रयोग गरेमा लामो समय मेकअप टिकाउन सम्भव हुन्छ । साथै, तपाईंको ड्रेसअपअनुसार मेकअपको कम्बिनेसन मिलाउनसमेत जरुरी छ ।