कुन क्षेत्रमा कति बजेट छुट्याइयो ? थाहा पाउनुहोस

आगामी आर्थिक वर्षको बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख

काठमाडौं । सरकारले आर्थिक वर्ष २o७६/0७७ को १५ खर्ब ३२ अर्ब बराबरको बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।
सरकारले विभिन्न शिर्षकमा उक्त बजेट प्रस्तुत गरेको हो ।

आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात ६२.४ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात २६.६ प्रतिशत र वित्तिय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ अर्थात ११ प्रतिशत बजेट विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले जानकारी दिए।

सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा र यातायातमा समान रकम विनियोजन गरेको छ । अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको बजेट अनुसार यातायात पूर्वाधार क्षेत्रमा १ खर्ब ६३ अर्ब रुपैयाँ विनियोजन गरिएको छ भने शिक्षामा पनि १ खर्ब ६३ अर्ब रुपैयाँ नै छुट्याएको छ।

त्यसपछि पुनर्निर्माणका लागि १ खर्ब ४१ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । स्वास्थ्य क्षेत्रमा भने ६८ अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरिएको छ।

स्वास्थ्यपछि खानेपानी तथा सरसफाइका लागि ४३ अर्ब ४६ करोड छुट्याइएको छ । त्यसैगरी हालै सरकारले सुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि भने ५ अर्ब एक करोड रुपैयाँ छुट्याइको छ । श्रम तथा रोजगार क्षेत्रमा ७ अर्ब १४ करोड रुपैयाँ, सामाजिक सुरक्षा कार्यक्रमको लागि ६४ अर्ब ५० करोड रकम विनियोजन गरिएको छ ।

अर्थमन्त्री खतिवडाका अनुसार कृषि तथा पशुपंक्षी क्षेत्रका लागि ३४ अर्ब ८० करोड रुपैयाँ, महिला वालिका तथा ज्येष्ठ नागरिकहरुका क्षेत्रमा ७८ करोड रुपैयाँ विनियोजित गरिएको छ ।

त्यस्तै सिँचाइ क्षेत्रका लागि २३ अर्ब ६३ करोड रुपैयाँ, वन तथा वातावरण क्षेत्रका लागि १५ अर्ब ४९ करोड रुपैयाँ, भूमिसुधार तथा सहकारी ७ अर्ब ६९ करोड रुपैयाँ छुट्याइएको छ ।

बजेट भाषणमा देशको प्रयटन विकासका लागि विभिन्न कार्यक्रम ल्याउने तयारी गरेको सरकारले पर्यटन क्षेत्रका लागि भने २२ अर्ब ६८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

औद्योगिक पूर्वाधार विकासका लागि २ अर्ब ८७ करोड रुपैयाँ, वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि ११ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले बताए ।

सरकारको अर्को प्राथमिकताको बिषयमा परेको भनेको हवाई क्षेत्र पनि एक हो । यसका लागि सरकारले १५ अर्ब ८५ करोड रुपैयाँ छुट्याएको छ ।
ऊर्जा क्षेत्रका लागि ८९ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएको छ । यातायात व्यवस्थापन शीर्षकमा १ अर्ब ५३ करोड, युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

गतबर्ष भन्दा करिब दुई खर्बले बढेर आएको बजेटमा सरकारले रेलमार्ग, हवाई, शिक्षा, आयायात पछि स्वास्थ्य क्षेत्रमा बढि बजेट विनियाजन गरेको छ ।

सरकारले गत वर्ष सरकारले आर्थिक वर्ष २0७५/0७६ का लागि १३ खर्ब १५ अर्बको बजेट प्रस्तुत ल्याएका थिए । चालु आर्थिक वर्षका लागि चालुतर्फ ८ खर्ब, पुँजीगतर्फ ३ खर्ब तथा वित्तियतर्फ १ खर्बसहित १३ खर्ब १५ अर्बको बजेट विनियोजन गरिएको थियो ।
सरकारले ल्याएको अहिलेसम्मकै ठुलो बजेटको मुल स्रोतका रुपमा राजश्व संकलनलाई नै लिइएको छ ।

त्यसका लागि राजस्व संकलनबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख रुपैयाँ, वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख रुपैयाँ गरिने अर्थमन्त्री खतिवडाको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार