विप्लवलाई सरकारका प्रवक्ताको अर्को चेतावनीः ‘जसले हिंसा गर्छ, त्यो आफै सिद्धिन्छ’

काभ्रै । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विप्लव समुहलाई अर्को चेतावनी दिएका छन् । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको ४०औँ साधारणसभालाई सम्बोधन गर्न शनिवार बनेपा पुगेका उनले  हत्या हिंसाको बाटोमा हिड्नेहरु आफै सिद्धिने बताएका हुन् ।

“बुद्धको देशमा हिंसा कदापि स्वीकार्य हुदैन, यदि कसैले हिंसा गर्छ भने त्यो आफै सकिन्छ”, सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले भने।

देशका विभिन्न ठाउँमा लुकेर बम पड्काउने र जनतालाई आतङ्कित पार्ने ‘जङ्गली राज’अब नचल्ने उनको भनाई थियो । प्रजातन्त्रमा शान्तीपुर्ण ढंगले आफ्ना बिचार राख्ने र आन्दोलन गर्ने अधिकार सबैलाई भएको तर, समाजलाई अराजकतातर्फ धकेल्ने अधिकार कसैैलाई नभएको भन्दै मन्त्री बाँस्कोटाले बताए ।

देशमा अशान्ती र अराजकता मच्चाउनेलाई सरकारले रोक्न कुनै कसर बाँकी राख्दैन उनले बताए ।
“कसैले हिंसा भड्काएर बर्तमान सरकार झुक्ला भन्ने नसोचे हुन्छ मन्त्री बाँस्कोटाले भने, सरकार कुनै पनि हालतमा त्यस्ता अराजक तत्वको अगाढी कमजोर हुनेछैन्।”

कार्यक्रममा बोल्दै उनले उद्योगी, ब्यवसायीहरुलाई निर्धक्क साथ आफ्नो काम गर्न आग्रह गर्दै कुनै समस्या भएमा छलफलका माध्यमबाट समस्या समाधान गरिने समेत बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार