काठमाडौं । खुलामञ्चलाई स्थायी बसपार्क बनाउन थालेपछि स्थानीयबासीले विरोध गरेका छन् । आइबार विहान भरर्खरै ढलान गरेको बाटोमा गाडी कुदाएर विरोध गरेका हुन् ।
सांसद भीमसेनदास प्रधान, काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गीसहित खुलामञ्च पुगेका स्थानीयबासीहरुले जस्ताको बार समेत भत्काएका छन् ।
यो संरचना भ्यू टावरका ठेकदार मनोज भेटवालले बनाएका थिए । यसका लागि महानगरले अनुमति दिएको उनको दाबी छ । तर उपमेयर खड्गीले भने यसबारे आफूलाई कुनै जानकारी नभएको बताएकी छन् ।
वडाध्यक्ष खड्गी भन्छन्, ‘उहाँले महानगरले अनुमति दिएको छ भन्नुभयो तर, त्यो पत्र देखाउनसक्नु भएन ।’
ठेकदार भेटवाल तीनै हुन्, जसले यसअघि खुलामञ्चमै व्यवसायिक सटरहरु हालेका थिए । सांसद, उपमेयरका साथै स्थानीयबासीले विरोध गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले डोजर चलाएको थियो ।









