सप्तरीको छिनमस्ता गाउँपालिका ९ रम्पुरा गाउँका दिनेश मरिकले नेपाल सरकारको छात्रवृत्तिमा एमबीबीएस पढन पाएको उनका बुवा दलित अभियन्ता युक्तिलालले बताए ।
युक्ति र फरकीदेवीका काइँलो छोरा दिनेशलाई कुनै बेला उच्च शिक्षा अध्ययनका लागि सदरमुकाम राजविराजमा डोम भएकै कारण डेरा दिइएको थिएन । ‘हामीले कसैलाई छोए अपवित्र हुने सामाजिक कुरीति कायम रहेका बेला मेरो छोरा डाक्टर पढेर गाउँका बिरामीको उपचार गरी सेवा गर्न पाउनु मेरोमात्र होइन, सिंगो डोम समुदायका लागि खुसी हो,’,’ युक्तिलालले भने ।
गाउँनजिकै खुदीबखारीस्थित विद्यालयबाट माध्यमिक तह उत्तीर्ण दिनेशले राजविराजको ह्यापीलैन्ड विद्यालयबाट कक्षा १२ पास गरेका थिए । ‘सरकारी छात्रवृत्तिमा हाम्रो छोराले अवसर पाउनु गौरवको विषय हो,’ उनले भने, ‘दिनेश सानैदेखि पढेर समाजसेवा गर्छु भन्थे अहिले डाक्टर पढने अवसर पाए । मेहनत गरेर पढाइ सकी स्वास्थ्य सेवामार्फत जातीय कलंकका रूपमा रहेको छुवाछूतलाई अन्त गर्ने छन् ।’
विद्यालय तहदेखि डोम भएकै कारण पढाइमा समेत विभेद खेपेका दिनेश डाक्टर पढ्ने अवसरले धेरै खुसी छन् । ‘गाउँको स्कुलमा मात्रै होइन, उच्च शिक्षाका लागि सदरमुकाम राजविराजमा पनि उस्तै सास्ती खेप्नु पर्यो,’ उनले भने, ‘सदरमुकाममा डेरा खोज्न जादा घरबेटीले डोम भन्ने थाहा पाउँनासाथ कोठमा दिएनन् ।’ जातीय छुवाछूतका कारण आफू निक्कै पिरोलिएको बताउँदै उनले छात्रवृत्तिमा डाक्टर पढ्ने अवसरलाई भरपुर सदुपयोग बताए ।
शैक्षिक तथा आर्थिक दृष्टिले निक्कै पछाडि रहेको डोम जातिबाट देशभरिमै कक्षा १० उत्तीर्ण संख्या १७, १२ कक्षा १० जना र स्नातक तह उत्तीर्ण तीन जनामात्र रहेको उनले जानकारी दिए ।
मेरो सफलताले परिवारमात्र होइन, समाज र पूरै समुदायमा खुसी भएको छ,’ युक्तिलाले भने, ‘अरूले हेला गर्ने डोम समुदायका हाम्रा बालबालिका पनि अब शिक्षातर्फ अग्रसर भएका छन् ।’
एसएलसीमा सप्तरीको जनता मावि खुदीबखारी कुपहीबाट सामेल दिनेशले ६४ प्रतिशत ल्याएका थिए । देशैभरिका डोम समुदायमध्ये प्रथम श्रेणीमा उत्तीर्ण उनी डोम समुदायका पहिलो विद्यार्थी हुन् । बाबु युक्तिलाल भन्छन्, ‘शिक्षा भए सबै कुरा हुन्छ भन्ने मान्यतासाथ अब हामी र हाम्रो समुदाय छोराछोरीलाई पढाउन लाग्नुपर्छ ।’
जातीय छुवाछूतको समस्यामा परेका डोम समुदाय शिक्षा आर्जनबाट बिगतमा वञ्चित थियो । विद्यालयमा अन्य जातिका विद्यार्थीले सँगै बसेर पढ्न नदिने, शिक्षकले पनि हेला गर्ने, पढाइ खर्च नहुने, परम्परागत पेसाबाट अलग हुन नसक्नेजस्ता समस्याले डोम बालबालिका अध्ययनमा पछि पारिएका थिए । खासगरी नहरको डिल, नदी किनार वा ऐलानी जग्गामा बसोबास गर्दै आएका डोम समुदाय प्राय:जसो भूमिहीन छन् ।
पढाइप्रति आकर्षण बढदो
पछिल्लो समय डोम विद्यार्थीको पढाइमा आकर्षण बढदै गएको छ । ०४० सालमा एसएलसी उत्तीर्ण युक्तिलालले १६ वर्षपछि मात्र पढाइलाई अगाडि बढाए ।
उनले ०६९ सालमा राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसबाट राजनीतिशास्त्रमा स्नातक गरेका छन् ।
‘०४० मा एसएलसी गर्दा पढाइको महत्त्व थाहा भएन,’ उनले भने, ‘तर बिस्तारै समाज परिवर्तनको आयाम हेर्दा पढाइप्रति पुन: रुचि जाग्यो र स्नातकसम्म अध्ययन गरेँ ।’ युक्ति नेपालका डोम समुदायमा पहिलो स्नातक हुन् ।
पढाइको महत्त्व बुझेका युक्तिले जेठा छोरा दिलिपलाई पनि पढाए । दिलिप प्रवीणता प्रमाणपत्र तह पास गरेका छन् । राष्ट्रिय जनगणना ०६८ का अनुसार नेपालमा डोम जाति १३ हजार २ सय ६८ छन् । यो समुदायको बसोबास खासगरी तराई क्षेत्रमा बढी छ । १२ हजार ८ सय ३३ भन्दा बढी तराई क्षेत्रमै बस्छन् । २४ जना पहाड र ४ सय ११ हिमाली क्षेत्रमा बसोबास गर्छन् ।
डोम समुदाय छुवाछूतको विभेद र आर्थिक विपन्नताकै कारण शैक्षिक क्षेत्रमा पछि परेको हो । पछिल्लो समयमा भने पढाइप्रति रुचि बढदै गएको दलित अभियान्ता भोला पासवानले बताए । उनका अनुसार अहिले डोम समुदायको ७ प्रतिशत शिक्षित छन् । विद्यालयस्तरमा छुवाछूत केही कम भएपछि डोम बालबालिका विद्यालयप्रति आकर्षित हुन थालेका छन् ।-कान्तिपुर