
काठमाडौं । सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले ३ सदस्यीय समिति गठन गरिएको छ । शनिबार मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय रहेको छानबिन समिति गठन गरिएको हो ।
समितिमा नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी सदस्य छन् । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएका छन् ।
शुक्रबार सर्लाहीको बरहथवा नगरपालिका–५ मा प्रँथमिक स्वास्थ्यकेन्द्र बरहथवालाई स्तरोन्नति गर्ने वा नगर्ने विषयमा भएको विवादमा स्थानीय वासिन्दाले गरेको प्रदर्शनमा गोली लागेर बरहथवा–६ का अन्दाजी ३० वर्षका जयशंकर साहको मृत्यु भएको थियो ।
मृतक परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ । साथै छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन समेत दिएका छन् ।








