बुद्ध जयन्तीको अवसरमा बालुवाटारमा यसरी गरियो दिप प्रज्वलन


काठमाडौं । बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिप प्रज्वलन गरिएको छ । बालुवाटार परिसरमा अवस्थित बुद्ध प्रतिमामा पुजाआजा गर्दै दिप प्रज्वलन गरिएको हो ।

बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल, मन्त्रीहरु लगायतको उपस्थितीमा दिप प्रज्वलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

बालुवाटारमा गरिएको दिप प्रज्वलनमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा लगायत अन्य बौद्ध भिक्षुहरु समेतको सहभागिता रहेको थियो । २५६४ औं बुद्ध जयन्तीका अवसरमा बुद्धको सम्मान र कोरोनासंग लडिरहेका स्वास्थ्यकर्मीको हौसलाका लागि बिहीबार साँझ ७ बजे सबैले दिप प्रज्वलन गर्न सरकारद्धारा आह्वान गरिएको थियो । जसअनुसार काठमाडौंको स्वयम्भु, बौद्धनाथ, कपन गुम्बालगायत देशभर दिप प्रज्वलन गरिएको छ ।

कोरोनालाई लिएर केहि दिनअघि भारतमा गरिएको दिप प्रज्वलनको नक्कल गरिएको भन्दै धेरैले सामाजिक संजालमा सरकारको आलोचना समेत गरेका छन् । स्वास्थ्यकर्मीको हौसलाका लागि दिप प्रज्वलन भन्दा पनि उनिहरुको सुरक्षा र उपचारका लागि प्रयाप्त स्वास्थ्य सामाग्री उपलब्ध गराउनतर्फ सरकारले बढी ध्यान दिनुपर्ने आवाज समेत उठिरहेको छ । यद्यपी बुद्धको सम्मानमा सरकारद्धारा देशवासीलाई दिप प्रज्वलन गर्न गरिएको आह्वानलाई भने सकरात्मक रुपमा लिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार