
पर्सा । कोरोना संक्रमित ब्यक्ति अस्तालबाटै भागेको खबर आएपछि स्थानिय प्रशासनले कडा कदम चालेको छ । पर्सा जिल्लामा कोहि संक्रमित अस्पतालको आइसोलेसनबाट भागेमा तिनलाई नियन्त्रणमा लिन प्रहरीले गोली समेत हान्न सक्ने निर्णय गरिएको हो ।
शुक्रबार पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले संक्रमित अस्पतालको आइसोलेसनबाट भागेमा त्यसलाई नियन्त्रणमा लिन प्रहरीलाई गोली हान्न सक्नेसम्मको अनुमती दिने निर्णय गरेको हो ।
‘अब उप्रान्त भर्ना भएका संक्रमित भाग्न नदिन सुरक्षा निकायले उच्च सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने र यसका लागि सुरक्षा निकायलाई गोली समेत चलाउन सक्ने अधिकारी प्रदान गर्ने’, उक्त बैठकको निर्णय नं. ३ मा भनिएको छ ।
पर्साको विरगञ्जमा रहेको नारायणी अस्पतालबाट बुधबार मात्रै दुईजना संक्रमित आइसोलेसनबाट भागेका थिए । उनीहरुमध्ये एकलाई बुधबार साँझ र अर्कोलाई बिहीबार मामा घरबाट नियन्त्रणमा लिइएको थियो । उनीहरु दुबै जना स्थानिय पुरुष हुन् ।












