
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को एक टोली कोरोना भाइरसको उत्पति बारे अनुसन्धान गर्न चीन जादैं छ । कोरोना भाइरसको स्रोत पत्ता लगाउन टोली अर्को साता चीन जाने बताइएको छ ।
पछिल्लो समय चीनबाटै कोरोना फैलिएकाले कोरोनाको स्रोतलाई लिएर राजनीतिक रुपले आरोपप्रत्यारोप चलिरहेको छ । यसै विषयलाई लिएर डब्लूएचओले आफ्नो विशेषज्ञ टोली चीन पठाउन लागेको हो ।
यसअघि पनि डब्लूएचओले कोरोना भाइरसको स्रोत पत्ता लगाउनका लागि आफ्नो विशेषज्ञ टोलीलाई बोलाउन चीनसँग आग्रह गरेको थियो ।
वैज्ञानिकहरुले चमेरो हुँदै कुनै एउटा समुद्री जनावर हुँदै मानिसमा कोरोना भाइरसको संक्रमण भएको दाबी गर्दै आएका छन् । अहिलेसम्म कोरोना भाइरसको चीनको हुबेई प्रान्तको राजधानी वुहानको ‘सी फूड मार्केट’ बाट फैलिएको दाबी गरिएको छ ।










