
काठमाडौं । भारतिय उच्च पदस्थ ब्यक्तिहरु नेपाल भ्रमणमा आए भने सधैं चर्चा हुने गर्दछ । त्यसमा पनि भारतिय सत्तापक्षका नेता, सुरक्षा निकायका ब्यक्तिहरुको नेपाल भ्रमणले त नेपालको राजनीति नै एकाएक तात्ने गर्दछ ।
बुधबार दिउँसो भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल गुप्तचर शैलीमै काठमाडौं आए । उनले प्रधानमन्त्री केपी ओली लगायतसंग महत्वपुर्ण भेटवार्ता गरी बिहीबार बिहान दश बजे दिल्ली फर्किसकेका छन् ।
तर, उनको नेपाल भ्रमणबारे सत्तापक्ष र विपक्षका शिर्षस्थ नेताहरुलाई कुनै पूर्व जानकारी थिएन् । उनको भ्रमणलाई भारत र नेपाल सरकारले गोप्य नै राखेको थियो ।
रअ प्रमुख गोयल दिल्ली फर्किसकेपछि मात्रै सरकारले आधिकारीक रुपमा उनको भ्रमणबारे प्रष्ट पार्यो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बिहीबार मात्रै रअ प्रमुख गोयल र प्रधानमन्त्रीबीच बालुवाटार मै बुधबार साँझ भेटवार्ता भएको पुष्टि गरे ।
रअ प्रमुख गोयलले शिर्षस्थ नेताहरुलाई पनि भेटेको खबर बाहिर आएपछि सत्तापक्ष र विपक्ष दलका शिर्ष नेताहरुलाई त्यसबारे प्रष्टिकरण दिन भ्याइ नभ्याइ भएको छ । रअ प्रमुख गोयलसंग नेकपा अध्यक्ष प्रचण्डको कुनै भेटवार्ता नभएको भन्दै उनको सचिवालयले प्रष्ट पारेको छ ।
प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले एक बक्तब्य जारी गर्दै रअ प्रमुखसंग अध्यक्ष प्रचण्डको कुनै भेटवार्ता नभएको प्रष्ट पारेका हुन् ।
“रअका प्रमुख गोयलले अध्यक्ष प्रचण्डसंग भेटवार्ता गरे भन्ने प्रकाशित समाचारप्रति हाम्रो सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ, प्रेस सल्लाहकार सापकोटाले भने, ‘सम्वेदनशील बिषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील गर्दछु ।”
त्यस्तै प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पनि रअ प्रमुख गोयलले भेटेको खबर आएपछि उनले पनि यसबारे हतार हतार प्रष्टिकरण दिएका छन् ।
बिहीबार सभापति देउवाले आफुले रअ प्रमुखलाई नभेटेको बताएको छन् । पूर्व प्रधानमन्त्री समेत रहेका देउवालाई गोयलले भेटेको भन्ने खबरबारे उनका निजी स्वकीय सचिव भानु देउवाले कुनै भेटवार्ता नभएको प्रष्ट पारेका हुन् ।
त्यस्तै नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि आफुले रअ प्रमुख गोयलसँग भेटवार्ता नगरेको बताएका छन् ।
बिहीबार उनले सामाजिक संजालार्फत एक बक्तब्य जारी गर्दै गोयलसँग आफ्नो भेटबारे आएका समाचार भ्रामक र झुठो रहेको उल्लेख गरेका छन् ।
“पूर्व प्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र रअका प्रमुखबचि भेट भएको भनी कतिपय सञ्चार माध्यममा झुट, कपोलकल्पित र भ्रामक समाचारहरू प्रकाशित भएकोमा त्यसको खण्डन गर्दै यस प्रकारका समाचारहरूबाट भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध छ”, नेता नेपालले ट्विटरमा लेखेका छन् ।











