
काठमाडौं । काठमाडौँ उपत्यकामा आजबाट निषेधाज्ञा खुकुलोसँगै थप एक साता बढेको छ । आजदेखि असार ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको हो ।
थप गरिएको निषेधाज्ञामा यातायातमा लागू गरिएको जोरबिजोर प्रणाली हटेको छ । आजदेखि सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइनेछ । जोर विजोर गर्दा यात्रुको चाप बढ्ने र जोखिम देखिने भएकाले सबै खाले यातायात सञ्चालन गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताएका छन् ।
सवारी चलाउँदा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, स्वास्थ्यका सबै मापदण्ड पालना गर्न तथा चालक र सहचालकलाई भाइजर र पञ्जाको प्रयोग गर्न भनिएको छ । सवारीको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने र सवारीलाई निसङ्क्रमित गर्नुपर्ने छ भने मास्क नलगाएका यात्रुलाई चढाउन पाइने छैन ।
यातायात सञ्चालनपछि काठमाडौंका सडकमा आज बिहानै देखि जाम सुरु भएको छ । सरकारले कारोनाको जोखिम न्यूनिकरणका लागि बैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरेको थियो ।











