
काठमाडौं । नेपाली काँग्रेसमा आवद्ध दलित नेता कार्यकर्ताहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् । बिहीबार पार्टी कार्यालय पुगेर काठमाडौं उपत्यकाका दलित नेता, कार्यकर्ताहरूले धर्ना दिएका हुन् । पार्टी नेतृत्वसमक्ष ५ बुँदे माग राख्दै उनिहरुले धर्ना दिएको संघले जनाएको छ ।
काँग्रेसका केन्द्रीय सदस्य तथा नेपाल दलित संघका केन्द्रिय अध्यक्ष मीन विश्वकर्माले पार्टीमा दलित सहभागिताको बिषयलाई लिएर बुधबार राजीना दिएपछि काँग्रेसमा आवद्ध दलित नेता तथा कार्यकर्ता आन्दोलित भएका हुन् ।
पूर्वमन्त्री समेत रहेका विश्वकर्माले काँग्रेसको महाधिवेशन प्र्रतिनिधि चयनमा दलितलाई उचित स्थान नदिएको भन्दै राजीना गरेका थिए । धर्नाको अगुवाई विश्वकर्मा र काँग्रेस नेता जीवन परियारले गरेका थिए ।
आशन्न काँग्रेस महाधिवेशनमा वडास्तरदेखि क्षेत्रिय प्रतिनिधि र महाधिवेशन / महासमितिसम्म अनिवार्य दलित समुदायबाट प्रतिनिधित्व हुनुपर्ने माग सहित नेपाल दलित संघ काठमाडौं, ललितपुर र भक्तपुरद्वारा कांग्रेस केन्द्रीय पार्टी कार्यालयमा धर्ना दिइएको नेता परियारले जानकारी दिए । आफ्ना जायज मागहरु नेतृत्वले पुरा नगरे पार्टीमा रहेका थप केन्द्रीय दलित सदस्यलाई पनि राजीनामा गर्न उनीहरुले दबाब दिएका छन् ।











